
बझाङ: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा नेता सिद्धराज जोशीले ३५ वर्षमुनिको युवा समूहबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी गरेका छन्।
पार्टी संगठनमा युवाको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास र नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित जोशीले उम्मेदवारीको तयारी थालेका हुन्।

लामो समयदेखि नेपाली कांग्रेसको युवा तथा विद्यार्थी राजनीतिसँगै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका जोशीले युवाको आवाज पार्टीको नीति निर्माण तहसम्म पुर्याउने लक्ष्य रहेको बताएका छन्।
जोशीले नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा थप सक्रिय बनाउनुपर्ने आवश्यकता औँल्याउँदै युवाको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


उनले पुस्तान्तरणसँगै अनुभवी नेतृत्वको ज्ञान र युवाशक्तिबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसलाई थप गतिशील, जनमुखी र संगठनात्मक रूपमा बलियो बनाउन युवाको सहभागिता महत्वपूर्ण हुने धारणा राखेका छन्।
नेपाली कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवाका लागि महाधिवेशन प्रतिनिधित्व सुनिश्चित गरिएको छ। प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जना ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।
हाल कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया अघि बढिरहेको छ भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ।






























