
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ‘म्यान अफ द इलेक्सन’ बनेकी २१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन्। बैतडीको मैलाली नगरपालिका–२ बाट क्षेत्रीय प्रतिनिधि बनेकी भट्ट शुक्रबार सम्पन्न प्रदेश सभा ‘ख’ अधिवेशनबाट ३५ वर्षमुनिको समूहमा प्रदेश प्रतिनिधि चुनिएकी हुन्।

जिल्ला निर्वाचन समितिका अनुसार उनी ३५ वर्षमुनिको समूहबाट सर्वसम्मत प्रदेश प्रतिनिधि बनेकी हुन्। प्रदेश प्रतिनिधिमा निर्वाचित भएपछि भट्टले आगामी कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा ३५ वर्षमुनिको समूहबाट प्रदेश सदस्यमा उम्मेदवारी दिने बताएकी छन्।

भट्ट २०८१ चैतमा सम्पन्न कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ८६५ मत प्राप्त गर्दै सर्वाधिक मत ल्याउने विद्यार्थी नेतामध्ये परेकी थिइन्। सो निर्वाचनमा नेपाल विद्यार्थी संघका सन्तोष पन्त सभापतिमा निर्वाचित भएका थिए।

हाल भट्ट कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकायअन्तर्गत राजनीतिक विज्ञान तथा पत्रकारिता विषय अध्ययनरत छिन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने तयारी रहेको जनाइएको छ।






























