
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले पाकिस्तानको हिस्साको सिन्धु नदीको पानी रोक्ने, अवरोध गर्ने वा मोड्ने कुनै पनि प्रयास गरे त्यसलाई ‘युद्धको कार्य’ मानिने चेतावनी दिएका छन्। शुक्रबार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले सिन्धु नदी प्रणालीको पानी पाकिस्तानसँगै सम्पूर्ण क्षेत्रका लागि महत्वपूर्ण रहेको बताए।

शरीफले पानीलाई राजनीतिक वा सैन्य दबाबको माध्यम बनाउन नहुने भन्दै नदीहरूले राष्ट्रलाई जोड्नुपर्ने धारणा राखे। उनले भारतले सन् १९६० को सिन्धु जल सन्धिलाई ‘स्थगन’ गर्ने निर्णयको कानुनी आधार नभएको दाबी गरे। गत अगस्टमा हेगस्थित स्थायी मध्यस्थता अदालतले सन्धि अझै लागू रहेको र भारत त्यसअन्तर्गतका दायित्वबाट मुक्त नभएको फैसला गरेको थियो। भारतले भने उक्त अदालतको अधिकारक्षेत्र र फैसलालाई अस्वीकार गरेको छ।

महासभामा शरीफले कश्मीर विवादको निष्पक्ष समाधान आवश्यक रहेको उल्लेख गर्दै दक्षिण एसियामा पुनः तनाव बढ्न नदिन संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बताए। उनले सन् २०२५ मा भारत–पाकिस्तानबीच भएको सैन्य तनावका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपले युद्धविराममा भूमिका खेलेको भन्दै धन्यवादसमेत दिए।

शरीफले मध्यपूर्वको द्वन्द्व, अफगानिस्तानबाट उत्पन्न सुरक्षा चुनौती र प्यालेस्टाइनको अवस्थाबारे पनि धारणा राख्दै टकरावको सट्टा संवाद, जबर्जस्तीको सट्टा सहयोग र युद्धको सट्टा शान्तिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।






























