अविरल वर्षाले देशभर जनजीवन प्रभावित : ५४ सडकखण्ड अवरुद्ध, २५ जिल्लामा यातायात रोक

Image
Nisarga Hospital

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावसँगै देशभर भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानका कारण सडक तथा यातायात प्रभावित हुँदा विभिन्न स्थानमा यात्रु अलपत्र परेका छन्। पछिल्लो विवरणअनुसार ५४ सडकखण्ड अवरुद्ध भएका छन् भने उच्च जोखिममा रहेका २५ जिल्लामा सवारी सञ्चालन रोक्न सुझाव दिइएको छ।

 देशभर कुन कुन ठाउँमा छ त सडक अबरुद्ध !

  • ५४ सडकखण्ड अवरुद्ध : लगातारको वर्षा, पहिरो र बाढीका कारण देशभर ५४ सडकखण्ड प्रभावित भएका छन्। कतिपय प्रमुख राजमार्गमा यातायात पूर्णरूपमा अवरुद्ध हुँदा लामो दूरीका यात्रु बाटोमै रोकिएका छन्।
  • गण्डकीमा बढी असर : गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा पहिरो र लेदोका कारण सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर तथा बेनी–जोमसोम सडक प्रभावित भएका छन्।
  • नारायणीमा उच्च बहाव : नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको जनाइएको छ। नदी किनारका बस्तीमा डुबान तथा कटानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • सप्तकोशीमा उच्च बहाव : सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७९५ क्युसेक बहाव मापन गरिएको थियो।
  • कालीगण्डकीमा चेतावनी : मोदीवेणी क्षेत्रमा जलसतह चेतावनी तह पार गरेपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • १४३ विपद्का घटना : पछिल्लो २४ घण्टामा देशभर १४३ वटा विपद्जन्य घटना भएको विवरणमा उल्लेख छ। ती घटनामा तीन जनाको मृत्यु, एक जना बेपत्ता र १३ जना घाइते भएका छन् भने ४२२ जनाको उद्धार गरिएको जनाइएको छ।
  • सुरक्षाकर्मी परिचालन : बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनासहितका सुरक्षा तथा उद्धार टोली परिचालन गरिएको छ।
  • २५ जिल्लामा यातायात रोक : बाढीपहिरोको उच्च जोखिममा रहेका २५ जिल्लालाई ‘रातो’ वर्गमा राखिएको छ। ती क्षेत्रमा दिन तथा रात दुवै समयमा सवारी सञ्चालन रोक्न सुझाव दिइएको छ। थप २९ जिल्ला ‘सुन्तला’ र २३ जिल्ला ‘पहेंलो’ जोखिम वर्गमा राखिएका छन्।
  • मौसम पश्चिमतर्फ सर्ने अनुमान : मौसमविद्का अनुसार वर्षाको प्रभाव पूर्वबाट पश्चिमतर्फ सर्दै जाने र पश्चिम तराईमा समेत भारी वर्षाको सम्भावना रहेको बताइएको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

नदी किनारमा प्राविधिक टोली परिचालन

नदी तथा खोलामा जलसतह बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सम्बन्धित कार्यालय, स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरी प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको जनाएको छ। विभिन्न नदी किनारमा बालुवाका बोरा, तारजाली तथा अन्य बाढी नियन्त्रण सामग्री प्रयोग गरी कटान रोक्ने काम भइरहेको छ।

मन्त्रालयले नदी किनार तथा तटबन्धनजिक नजान र जल तथा मौसमसम्बन्धी पूर्वसूचनालाई गम्भीरतापूर्वक पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

धाप ड्याम सुरक्षित रहेको मन्त्रालयको भनाइ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित धाप बाँध पूर्णरूपमा सुरक्षित रहेको ऊर्जा मन्त्रालयले जनाएको छ। प्राविधिक टोलीले बाँधको अवस्था, जलसतह र पानीको आगमन नियमित निगरानी गरिरहेको छ। भदौ २४ गते स्याडल ड्याम–१ नजिक पहिरो गएपछि सुरक्षाका लागि प्रतिसेकेन्ड करिब ४०० लिटर पानी निकास गरिएको थियो। त्यसपछि जलाशयको सतह २.३८ मिटर घटेर २०८४.८० मिटरमा आएको र करिब ३५ प्रतिशत पानी सुरक्षित रूपमा निकासा भइसकेको आयोजनाले जनाएको छ।

प्रशासन र सुरक्षा निकायले मौसममा पूर्ण सुधार नआएसम्म जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न, रातिको लामो दूरीको यात्रा सकेसम्म स्थगित गर्न तथा आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital