
अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्से क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले हालसम्म २० देखि २५ वटा घर बगाइसकेको र थप सयभन्दा बढी घर जोखिममा रहेको वडाध्यक्ष हरि विकास जिसीले जानकारी दिए।

उनका अनुसार नदीको बहाव निरन्तर बढ्दै जाँदा बाढी बस्ती पस्न थालेको छ। बाढीले घरसँगै स्थानीय विद्यालय, कृषि फर्म तथा गोठहरू समेत बगाएको छ। बस्तीमा बाढीको प्रभाव बढ्दै गएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष जिसीले बताए।

बाढीबाट ठूलो मात्रामा भौतिक संरचना तथा धनमालमा क्षति भए पनि हालसम्म मानवीय क्षति भने नभएको जनाइएको छ। जोखिम बढेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेर सम्भावित मानवीय क्षति रोक्ने प्रयास भइरहेको छ। नदीको बहाव अझै बढिरहेको बताउँदै वडाध्यक्ष जिसीले तत्कालका लागि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा राख्नुबाहेक अन्य विकल्प नरहेको बताएका छन्।






























