
डोटी: नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता ओझाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा निर्वाचनमा युवाको नेतृत्वमार्फत अगाडी बढेका छन । डोटीको वडा नं. २ बाहुनकाडाका स्थायी बासिन्दा ओझाले लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएर राजनीतिक अनुभव हासिल गरेको बताएका छन्। नेपाल विद्यार्थी संघका पूर्व आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका उनी कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। उनी १५औँ महाधिवेशनका लागि पनि महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका छन्।

राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको बताउने ओझा नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका कार्यसमिति सदस्य हुन्। डोटीमा युवाको नेतृत्व गर्ने संस्थाका रूपमा रहेको डोटी जेसीजको सन् २०२१ मा अध्यक्ष र २०२२ मा नेपाल जेसीजको राष्ट्रिय सरकारी साझेदारी समितिको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेको उनको विवरणमा उल्लेख छ।
ओझाले आफूले विद्यार्थी राजनीतिदेखि नै पार्टीभित्र आन्तरिक लोकतन्त्र र पारदर्शी नेतृत्वको विषय उठाउँदै आएको बताएका छन्। करिब एक दशकअघि नेपाल विद्यार्थी संघ डोटीको नेतृत्व चयन प्रक्रियामा असहमति जनाउँदै समानान्तर समिति गठन गरी केही समय सञ्चालन गरेको र पछि पार्टीका नेताहरूको समन्वयमा दुई समिति एकीकरण गरिएको उनले बताएका छन्।

आदर्श गाउँपालिकाको विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, साना तथा घरेलु उद्योग, भौतिक पूर्वाधार र रोजगारीका क्षेत्रमा स्पष्ट योजना आवश्यक रहेको ओझाको भनाइ छ। गाउँपालिकाका विभिन्न वडामा रहेका कच्ची सडकलाई व्यवस्थित गर्ने, बेरोजगार युवालाई आयआर्जनसँग जोड्ने तथा स्थानीय स्रोत र सम्भावनाको उपयोग गर्दै विकास अघि बढाउनुपर्ने उनले बताएका छन्।

स्थानीय तहमा सुशासन कायम गर्नु प्रमुख चुनौती रहेको उल्लेख गर्दै ओझाले विकास निर्माणमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए। केन्द्र तथा प्रदेश सरकारसँग समन्वय र पहुँच स्थापित गरी गाउँपालिकाका विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउन सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
आगामी स्थानीय निर्वाचनमा मतदाताले उम्मेदवारको विगत, वर्तमान कार्यसम्पादन, क्षमता, नैतिकता र व्यवहारलाई आधार बनाएर निर्णय गर्नुपर्ने ओझाले बताएका छन्। पार्टीगत आबद्धतासँगै उम्मेदवारको व्यक्तिगत क्षमता र कार्ययोजनालाई समेत मूल्यांकन गर्नुपर्ने उनको धारणा छ।
आफूले तयार पारेको विकासको खाका पार्टीले टिकट दिने जुनसुकै उम्मेदवारसँग सहकार्य गर्दै अघि बढाउन तयार रहेको पनि ओझाले बताएका छन्। स्थानीय तहमा आमूल परिवर्तनका लागि स्पष्ट दृष्टिकोण, इच्छाशक्ति, प्राविधिक ज्ञान र समन्वयकारी नेतृत्व आवश्यक रहेको उनले उल्लेख गरेका छन्।





























