
भारतको केदारनाथ क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर बझाङका एक नेपालीको मृत्यु भएको छ। शनिबार साँझ तीर्थयात्रीलाई डोलीमा बोकेर जाने क्रममा ढुंगा लाग्दा जयपृथ्वी नगरपालिका–१ कैलाशका ३६ वर्षीय धर्म खड्काको मृत्यु भएको हो।

खड्का केदारनाथ क्षेत्रमा डोली बोकेर जीविकोपार्जन गर्दै आएका थिए। गौरीकुण्डबाट केदारनाथ मन्दिरतर्फ डोली बोकेर जाँदै गर्दा गौरीकुण्डनजिकै बाटोमाथिबाट अचानक खसेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

आफन्त सुरेशबहादुर सिंहले धर्मको मृत्यु भएको पुष्टि गरेका छन्। मृतक खड्काका वृद्ध आमा, पत्नी र चार महिनाका छोरा छन्। परिवारको मुख्य आर्थिक सहारा रहेका उनको मृत्यु भएपछि परिवारमा थप आर्थिक संकट निम्तिएको छ।

भारतमा मृत्यु भएका खड्काको शव नेपाल ल्याउनसमेत परिवारलाई आर्थिक समस्या भएको छ। उनका भाइ नाता भुवन खड्काका अनुसार आर्थिक अभावका कारण शव नेपाल ल्याउन कठिनाइ भइरहेको छ। परिवारले शव नेपाल ल्याउन सहयोगका लागि सम्बन्धित निकाय तथा सहयोगी मनहरूसँग आग्रह गरेको छ।






























