बागलुङमा पहिरोको कहर : १० जनाको मृत्यु, एक बेपत्ता; तनहुँमा २४ घरमा क्षति

Image
Nisarga Hospital

अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। आइतबार मात्रै तमानखोला र निसीखोलामा ९ जनाको मृत्यु भएको हो। शनिबार ताराखोलामा घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार तमानखोला–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घर बगाएको छ।

तमानखोला–४ सन्तरमा घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती भने पहिरोमा परी बेपत्ता भएकी छन्।

nawajiwan

यस्तै, निसीखोला–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, ८ वर्षीय मुकेश र ३ वर्षीय निशान छन्। निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Attariya Hospital

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको बताएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।

यसैबीच, लगातारको वर्षासँगै आएको बाढी र पहिरोले तनहुँका ६ स्थानीय तहका २४ घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यासमा ५, म्याग्देमा २, घिरिङमा ६, ऋषिङमा २, बन्दीपुरमा ४ र भानुमा ५ घर प्रभावित भएका छन्। प्रहरीले पीडित परिवारलाई सुरक्षित स्थानमा सारेको छ।

पहिरोले व्यास–१ स्थित राइस मिलमा क्षति पुर्‍याउँदा एक सय बोरा धान भिजेको छ भने भिमाद–६ मालेबगरमा कुखुराफार्म र बंगुरको खोर बगाएको छ। देवघाट–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकीको बाढीले शौचालय, बाथरुम र १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति बगाएको छ। गुफाका ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई प्रहरीले सुरक्षित स्थानमा सारेको जनाएको छ।