
कैलालीः कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित एक डेरीको दूधमा सेतो रंगको किरा भेटिएको गुनासोपछि प्रहरीले अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार पार्वती चौधरीले कैलाली दुग्ध सहकारी संस्था लिमिटेडबाट खरिद गरी घरमा ल्याएको दूधमा किरा भेटिएको बताएकी छन्। घटनाबारे जानकारी पाएपछि गेटा प्रहरी चौकीबाट टोली तत्काल डेरीमा पुगेको थियो।

प्रहरी पुग्दा डेरीमा बाँकी दूध फेला नपरेको र सबै बिक्री भइसकेको सञ्चालकले बताएका छन्। प्रहरीले डेरी सञ्चालकलाई आवश्यक सोधपुछका लागि प्रहरी चौकी गेटामा ल्याई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।































