एनपीएलसँग तालिका जुधेपछि हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने

Image
Nisarga Hospital

नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएको छ। आयोजकले सोमबार सार्वजनिक गरेको प्रतियोगितामा सहभागी टोलीको सूचीमा नेपालको नाम समावेश गरिएको छैन। अक्टोबर ३० देखि नोभेम्बर १ सम्म हङकङको तिनकोङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुने प्रतियोगिताको समय नेपाल प्रिमियर लिग (एनपीएल) सँग जुधेकाले नेपालले टोली पठाउन नसक्ने अवस्था बनेको हो।

CP Hospital Dhangadhi

प्रतियोगितामा आयोजक हङकङसहित ओमान, यूएई, स्कटल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, इंग्ल्यान्ड र बंगलादेश सहभागी हुँदैछन्। यसपटक स्कटल्यान्डले पनि प्रतियोगितामा सहभागिता जनाउनेछ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल आयोजना हुने समयमै हङकङ सिक्सेस हुने भएकाले नेपाली टोली पठाउन कठिन देखिएको बताएका छन्। नेपालले यसअघि हङकङ सिक्सेसका दुई संस्करणमा सहभागिता जनाएको थियो।

nawajiwan
Attariya Hospital

हङकङ सिक्सेस सामान्य क्रिकेटभन्दा फरक ढाँचामा खेलाइने प्रतियोगिता हो। खेल ६ ओभरको हुन्छ भने मैदानमा एक टोलीबाट ६ जना खेलाडी मात्र हुन्छन्। मैदान तुलनात्मक रूपमा सानो हुने भएकाले खेलाडीहरू आक्रामक ब्याटिङमा केन्द्रित हुन्छन्।

यस प्रतियोगितामा ब्याटरले ५० रन बनाएपछि अनिवार्य रूपमा रिटायर हुनुपर्ने विशेष नियम छ। पाँच विकेट गइसकेपछि बाँकी एक ब्याटरले एक्लै ब्याटिङ गर्न सक्छन् भने अर्का खेलाडीले रनिङमा सहयोग गर्छन्। विकेटकिपरबाहेक सबै खेलाडीले बलिङ गर्नुपर्ने र एक खेलाडीले अधिकतम दुई ओभर मात्र बलिङ गर्न पाउने नियम छ।

प्रतियोगितामा प्रायः अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका तथा ब्याटिङ र बलिङ दुवैमा सक्षम खेलाडीलाई प्राथमिकता दिइन्छ।