
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी–दैजी सडक खण्डमा जङ्गली जनावरको आवागमन बढेपछि यात्रुहरू त्रसित बनेका छन्। सडक किनारमा बाक्लो झाडी रहेकाले जनावरहरू अचानक सडकमा देखिन थालेपछि दुर्घटनाको जोखिमसमेत बढेको छ।

सोमबार बेलौरीस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थी महेन्द्रनगर जाने क्रममा कालिकिच क्याम्पबाट करिब दुई किलोमिटर अगाडि ठूलो पाटेबाघले मृग मुखमा च्यापेर सडक छेउमा उभिएको देखे। उनले बाघको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै यात्रुलाई सतर्क भएर यात्रा गर्न आग्रह गरेका छन्।
अवस्थीका अनुसार उनको गाडी देखेपछि बाघ केही समय रोकिएको थियो। त्यसक्रममा पछाडिबाट आएको मोटरसाइकलसमेत बाघसँग ठोक्किनबाट मुस्किलले जोगिएको थियो। सडक किनारको बाक्लो झाडीका कारण जङ्गली जनावर नजिक पुगेपछि मात्र देखिने भएकाले जोखिम बढेको भन्दै उनले झाडी सफा गर्न माग गरेका छन्।


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले उक्त सडक खण्डमा पछिल्लो समय जङ्गली जनावरको ‘मुभमेन्ट’ बढेको पुष्टि गरे। उनका अनुसार पानीका मुहान तथा नहर किनार हुँदै सडक जाने भएकाले जनावरको आवागमन बढी हुने गरेको छ। करिब १०–१५ किलोमिटर सडक खण्डको किनारमा बढेको झाडी हटाउन निकुञ्जले सम्बन्धित स्थानीय तहसँग समन्वय गरिरहेको छ।
झाडी सफाइका लागि बेलडाँडी गाउँपालिका, स्थानीय जनप्रतिनिधि, निकुञ्ज कर्मचारी तथा सुरक्षाकर्मीसँग छलफल भइसकेको छ। आवश्यक परे सेनासमेत परिचालन गरी सफाइ गर्ने योजना छ। निकुञ्जले यात्रुको सुरक्षाका लागि सडक क्षेत्रमा गस्ती बढाउने र अस्थायी टहरा निर्माण गर्ने योजना पनि अघि सारेको छ।






























