
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कैलालीमा शेरबहादुर देउवा पक्षले संगठनात्मक तयारी तीव्र बनाएको जनाएको छ। सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै देउवा पक्षले वडा तहदेखि क्षेत्र र जिल्ला तहसम्म अधिवेशनका लागि आवश्यक तयारी अघि बढाइएको जानकारी दिएको हो।

केन्द्रीय सदस्य नृपबहादुर वडले जिल्लाका विभिन्न तहमा अधिवेशन सम्पन्न गर्न जिम्मेवारी बाँडफाँट गरी संयोजकहरू खटाइएको बताए। उनका अनुसार क्षेत्रीय तथा जिल्ला तहमा निर्वाचनका लागि जिम्मेवारी तोकिएको छ भने वडा, गाउँपालिका र नगरपालिका तहमा समेत आवश्यक समन्वय र तयारी अघि बढाइएको छ।
वडले देउवा पक्षको प्रस्तावअनुसार आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी रहेको बताए। त्यसपछि क्रमशः गाउँपालिका, नगरपालिका, निर्वाचन क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ। उनका अनुसार पार्टीको विधान र आफूहरूले अघि सारेको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाइनेछ।


कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र फरक–फरक कार्यतालिका अघि बढिरहेका बेला देउवा पक्षले आफ्नो तयारी सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा वडले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई नै १५औँ महाधिवेशन सम्पन्न गर्ने अधिकार रहेको दाबी गरे। पार्टीभित्र विभिन्न समूह र नेताहरूले अघि बढाइरहेका राजनीतिक गतिविधिका आधारमा कांग्रेसको आधिकारिकतामाथि प्रश्न उठाउन नहुने उनको भनाइ थियो। यसैबीच, कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय छ।






























