
हिन्दू धर्मशास्त्रमा मंगलबार भगवान गणेशको पूजा, अर्चना तथा व्रतका लागि विशेष दिन मानिएको उल्लेख पाइन्छ। शुभ कार्यको सुरुवातअघि गणेशको पूजा गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार मंगलबार श्रद्धापूर्वक गणेशको पूजा तथा व्रत गर्नाले सुख, शान्ति, समृद्धि प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ।

गणेश पूजामा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, दक्षिणा, आरती र परिक्रमा गरी विभिन्न विधि अपनाउने परम्परा छ। पूजा गर्दा शुद्ध र एकाग्र मनले संकल्प गर्नुपर्ने धार्मिक मान्यता छ।
धार्मिक मान्यताअनुसार मंगलबार केही काम गर्न भने निषेध गरिएको पाइन्छ। यस दिन पशुपक्षीको हत्या, माछा तथा मासु सेवन र मदिरा सेवन नगर्न सुझाव दिइन्छ। यस्ता कामले आर्थिक समस्या, क्रोध तथा अन्य बाधा बढ्न सक्ने धार्मिक विश्वास छ।


गणेशलाई लड्डु विशेष प्रिय मानिन्छ। पद्मपुराणसँग जोडिएको कथाअनुसार गणेशले तीर्थयात्रामा जान नसकेपछि माता पार्वती र पिता शिवको परिक्रमा गरेका थिए। गणेशको यस भक्तिभावबाट प्रसन्न भएर पार्वतीले उनलाई दिव्य लड्डु प्रदान गरेको कथामा उल्लेख छ। त्यसैले गणेशलाई लड्डु चढाउँदा मातापिताप्रतिको सम्मान र भक्तिभाव स्मरण गर्ने परम्परा रहेको बताइन्छ।
गणेशलाई बुद्धि, ज्ञान र विघ्न निवारणका प्रतीकका रूपमा पनि पूजा गरिन्छ। मंगलबार पूजा गर्दा ‘ॐ गं गणपतये नमः’, ‘ॐ सिद्धि विनायकाय नमः’, ‘ॐ गजाननाय नमः’, ‘ॐ एकदन्ताय नमो नमः’, ‘ॐ लम्बोदराय नमः’ लगायतका मन्त्र जप्ने धार्मिक परम्परा छ।





























