दसैंको स्वागतमा थारू बस्तीमा सखियाको रौनक, मादलको तालसँगै झुम्न थाले युवती

Image
Nisarga Hospital

कैलालीका थारू बस्तीमा थारू समुदायको मौलिक तथा परम्परागत लोकनृत्य सखिया नाचको रौनक सुरु भएको छ। दसैं नजिकिएसँगै गाउँघरमा मादल र मजिराको ताल घन्किन थालेका छन् भने महिला तथा युवतीहरू सामूहिक रूपमा सखिया नाचमा रमाउन थालेका छन्।

CP Hospital Dhangadhi

थारू समुदायमा अट्वारी पर्व सकिएपछि दसैंको तयारीस्वरूप सखियाको ‘पैँया’ लगाउने परम्परा छ। सोही परम्पराअनुसार कैलालीका विभिन्न गाउँमा साँझपख सखियाको पैँया सुरु भएको हो। धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा पनि अट्वारी पर्वलगत्तै सखियाको पैँया सुरु गरिएको स्थानीय सूर्य चौधरीले बताए।

उनका अनुसार दसैं नजिकिएसँगै गाउँघरमा सखिया नाचको अभ्यास र प्रदर्शनले चहलपहल बढेको छ। साँझको समयमा महिला तथा युवतीहरू समूह बनाएर सखिया नाचमा सहभागी हुने गरेका छन्। यसले गाउँको वातावरणमा उत्सवको माहोल सिर्जना गरेको छ।

nawajiwan

कैलारी गाउँपालिका–६ बेनौली गाउँ पनि यतिबेला मादलको तालले गुञ्जायमान बनेको छ। यहाँका महिला तथा युवतीहरूले साँझदेखि सखियाको पैँया लगाउन थालेका छन्। बेनौलीका सखिया नाचका मंदरिया अर्थात् मादल बादक वेदप्रसाद महतोका अनुसार हरेक साँझ सुरु हुने पैँया राति करिब १० बजेसम्म चल्ने गरेको छ।

Attariya Hospital

“अब यहाँबाट दसैंसम्म गाउँमा सखिया नाचको पैँया लगाउँछौं,” महतोले भने।

सखियाको पैँया सामान्यतः गीतविहीन नृत्यका रूपमा गरिन्छ। दसैंका समयमा भने गीत गाउँदै सखिया नाच प्रस्तुत गर्ने परम्परा रहेको स्थानीय बताउँछन्। मादल र मजिराको तालमा महिलाहरू तथा युवतीहरू सामूहिक रूपमा नाच्ने गर्छन्। मादल बजाउने मंदरियाको निर्देशन र मादलको ‘खोट’ अर्थात् तालअनुसार नाचका विभिन्न शैली प्रस्तुत गरिन्छ।

थारू समुदायमा महिला साथीलाई ‘सखी’ भन्ने गरिन्छ। साथीहरू मिलेर सामूहिक रूपमा नाच्ने भएकाले यो नृत्यलाई ‘सखिया’ भनिएको बताइन्छ। पुस्तौँदेखि चलिआएको सखिया नाच थारू समुदायको मौलिक लोकसंस्कृति, परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा समेत लिइन्छ।

दसैंको आगमनसँगै गाउँघरमा सुरु भएको सखियाको पैँयाले थारू बस्तीमा सांस्कृतिक उत्साह थपेको छ। मादलको तालसँगै नाचिने यो मौलिक नृत्यले नयाँ पुस्तालाई समेत आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने माध्यमका रूपमा निरन्तरता पाइरहेको छ।