
महाकाली नदीमाथि रहेको दोधारा–चाँदनी झोलुङ्गे पुल बुधबार बिहान चुँडिएर नदीमा लत्रिएको छ। दोधारा चाँदनी नगरपालिका–४ स्थित पुलको दोधारा तर्फको करिब ५–६ मिटर भाग बिहानैदेखि माथि उठेपछि आवतजावतमा समस्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुलको पिल्लर भत्किएपछि पुलको संरचना नै चुँडिएर नदीतर्फ लत्रिएको हो। पुल चुँडिएसँगै उक्त झोलुङ्गे पुलबाट हुने आवतजावत पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

यो पुलले विगतमा दोधारा–चाँदनी क्षेत्रलाई जिल्ला सदरमुकाम महेन्द्रनगरसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा काम गर्दै आएको थियो। पछिल्लो समय महाकाली नदीमाथि पक्की पुल निर्माण भएसँगै स्थानीयले मुख्यतः पक्की पुलबाटै आवतजावत गर्दै आएका छन्।

वर्षौँअघि निर्माण गरिएको झोलुङ्गे पुल लामो समयदेखि जीर्ण अवस्थामा रहेको स्थानीयको भनाइ छ। पुलको संरचना कमजोर बन्दै गए पनि समयमै मर्मत तथा संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिँदा यस्तो अवस्था आएको स्थानीयले बताएका छन्। पुल चुँडिएपछि यसको अवस्था तथा क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।






























