
अत्तरियाः चाडपर्व नजिकिएसँगै कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाले खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीको सहकार्यमा बुधबार अत्तरिया बजार क्षेत्रका होटल, किराना तथा खाद्य सामग्री बिक्री गर्ने पसलमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा विभिन्न होटल तथा खाद्य व्यवसायबाट स्वास्थ्यका लागि उपयुक्त नमानिएका प्लास्टिकका चपिङ बोर्ड (काट्ने बोर्ड) बरामद गरिएको छ। खाद्य सामग्री काट्न तथा तयारी गर्न प्लास्टिकका बोर्डको प्रयोग भइरहेको पाइएपछि व्यवसायीलाई काठका चपिङ बोर्ड प्रयोग गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ।

त्यस्तै, किराना तथा खाद्य सामग्री बिक्री गर्ने पसलमा अनुगमन गर्दा १६ प्याकेट म्याद नाघेका भुजा, ढुसी लागेको मिठाई तथा सडेगलेका खाद्य सामग्री फेला परेको थियो। अनुगमन टोलीले बरामद गरेका म्याद नाघेका तथा अखाद्य सामग्री नष्ट गरेको जनाएको छ।
चाडपर्वका बेला खाद्य सामग्रीको बिक्री–वितरण बढ्ने भएकाले म्याद नाघेका, गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई तीव्रता दिइएको नगरपालिकाले जनाएको छ।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि चाडपर्व लक्षित बजार अनुगमन गरिएको बताइन्। चाडपर्वमा खाद्य सामग्रीको माग बढ्ने भएकाले मिसावट, म्याद नाघेका तथा अखाद्य वस्तुको बिक्री हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न अनुगमनलाई निरन्तरता दिइने उनले बताइन्।

उनले उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, लेबल, प्याकेजिङ तथा गुणस्तरसम्बन्धी विवरण जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिन्। म्याद नाघेका वा अखाद्य वस्तु बिक्री भइरहेको पाइएमा नगरपालिका वा सम्बन्धित निकायलाई जानकारी गराउन पनि उनले आग्रह गरिन्। उनका अनुसार अनुगमन अत्तरिया बजारमा मात्र सीमित नराखी गोदावरी नगरपालिकाका विभिन्न वडामा समेत आवश्यकता अनुसार सञ्चालन गरिनेछ।
यस्तै, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले चाडपर्वका समयमा बजारमा किनमेल बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य सामग्रीको गुणस्तर कायम गर्न अनुगमन गरिएको बताए।
उनले म्याद नाघेका वा अखाद्य वस्तु बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही तथा जरिवाना गरिने चेतावनी दिए। व्यवसायीले नाफाभन्दा उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर खाद्य सामग्रीको गुणस्तर तथा स्वच्छता कायम गर्नुपर्ने उनको भनाइ छ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोयनाथ ओझाले नगरपालिकाको आह्वानमा नगर क्षेत्रका विभिन्न बजारमा अनुगमन भइरहेको बताए। उनले अनुगमनका क्रममा म्याद सकिएका मसला, खाद्य तथा पेय पदार्थलगायत सामग्रीसमेत फेला परेको जानकारी दिए।
ओझाले व्यवसायीलाई खाद्य सामग्रीको स्वच्छता, सरसफाइ र भण्डारणमा विशेष ध्यान दिन तथा अखाद्य वस्तु बिक्री–वितरण नगर्न निर्देशन दिइएको बताए। उपभोक्तालाई पनि आफूले खरिद गर्ने सामग्रीको म्याद, लेबल, प्याकेजिङ र गुणस्तर जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिएको उनले बताए।






























