कृष्णपुरको शिक्षामा नयाँ पहल : ६ सामुदायिक विद्यालयलाई ४५ लाख ४५ हजारका बस हस्तान्तरण

Image
Nisarga Hospital

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्रका ६ वटा सामुदायिक विद्यालयलाई विद्यार्थी ओसारपसारका लागि नयाँ बस हस्तान्तरण गरेको छ। नगरपालिकाले बुधबार एक कार्यक्रम आयोजना गरी माध्यमिक तहका विद्यालयका प्रतिनिधिलाई बस हस्तान्तरण गरेको हो।

CP Hospital Dhangadhi

नगरप्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय माध्यमिक विद्यालय पहरिया, उदय माध्यमिक विद्यालय बंक, नन्द माध्यमिक विद्यालय देखतभुली, कृष्ण माध्यमिक विद्यालय गुलरिया, महाकाली माध्यमिक विद्यालय र वीणा माध्यमिक विद्यालय विचुवालाई एक–एक वटा बस हस्तान्तरण गरिएको हो।

nawajiwan

नगरपालिकाले गत आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट बस खरिद गरेको जनाएको छ। ५० सिट क्षमताका प्रत्येक बसको लागत अनुमान करिब ५४ लाख रुपैयाँ रहे पनि प्रतिस्पर्धात्मक बोलपत्रमार्फत प्रति बस ४५ लाख ४५ हजार रुपैयाँमा खरिद सम्झौता भएको नगरप्रमुख ओझाले जानकारी दिए। २०२६ मोडल तथा ३ हजार २०० सीसी क्षमताका बस सिपर्दी ट्रेडिङ प्रालिमार्फत खरिद गरिएको हो।

नगरप्रमुख ओझाका अनुसार खरिद प्रक्रियामा केही ढिलाइ भएका कारण बस हस्तान्तरणमा समय लागेको हो। विद्यालयले बस सञ्चालन गर्न सक्ने अवस्था र आवश्यक व्यवस्थापन सुनिश्चित गरेपछि मात्र बस हस्तान्तरण गरिएको उनले बताए।

नगरप्रमुख ओझाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयसम्म पुग्न सहज बनाउने उद्देश्यले बस व्यवस्थापन गरिएको बताए। विशेषगरी विद्यालयदेखि टाढा रहेका ग्रामीण बस्तीका साना बालबालिकालाई नियमित विद्यालय आउन–जान सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था गरेको उनको भनाइ छ।

Attariya Hospital

“प्रतिस्पर्धाको समय छ। बालबालिकालाई टाढा रहेको विद्यालयसम्म पुग्न समस्या हुने भएकाले बस खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरेका हौँ,” नगरप्रमुख ओझाले भने, “यसबाट विद्यार्थीको नियमित उपस्थिति बढ्नुका साथै शैक्षिक गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिएका छौँ।”

उनका अनुसार बस खरिद प्रक्रियामा तीनवटा कम्पनी सहभागी भएका थिए। प्रतिस्पर्धामा टाटा, अशोक लेल्यान्ड र आईसर कम्पनीका बस समावेश थिए।

नगरपालिकाका अनुसार विद्यालयमा बस उपलब्ध भएपछि टाढाटाढाबाट आउने विद्यार्थीलाई आवतजावतमा सहजता हुनेछ। यातायातको अभावका कारण विद्यालय आउन कठिनाइ भोग्दै आएका विद्यार्थीलाई बस सेवाले प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। यसबाट विद्यार्थीको विद्यालयमा नियमित उपस्थितिसँगै पठनपाठनमा निरन्तरता कायम गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ।

बस हस्तान्तरण कार्यक्रममा नगरप्रमुख ओझासँगै उपप्रमुख द्रोपती राना, विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारसँगै विद्यार्थीको सहज पहुँचलाई समेत ध्यानमा राखेर कार्यक्रम अघि बढाएको जनाएको छ।