महाकालीको झोलुंगे पुल पुनर्निर्माण यथाशीघ्र अघि बढाउन नेता लेखकको आग्रह

Image
Nisarga Hospital

कञ्चनपुरः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल चुँडिएको घटनाप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणको काम यथाशीघ्र अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै लेखकले पुल चुँडिएपछि दोधारा–चाँदनी क्षेत्रको जनजीवन तथा यातायात सम्पर्कमा परेको कठिनाइप्रति चिन्ता व्यक्त गरेका छन्। उनले पुलको पुनर्निर्माणसँगै आवश्यक मर्मत तथा सम्भारमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्।

लेखकले उक्त पुल कञ्चनपुरको मात्र नभई नेपालको झोलुंगे पुल विकासक्रमकै ऐतिहासिक संरचना भएको उल्लेख गरेका छन्। उनका अनुसार विगतमा देशका अन्य भूभागसँग प्रत्यक्ष यातायात सम्पर्क नभएको दोधारा–चाँदनीलाई उक्त पुलले देशको मूल भूभागसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको थियो।

nawajiwan
Attariya Hospital

लेखकले आफू २०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएपछि महाकाली नदीमा झोलुंगे पुल निर्माण गरी दोधारा–चाँदनीलाई देशका अन्य भूभागसँग जोड्नुपर्ने विषय संसद्मा उठाएको स्मरण गरेका छन्। त्यसबेला महाकाली नदीमा झोलुंगे पुल निर्माण गर्ने कुरा कतिपयले असम्भव भन्दै ठट्टासमेत गरेको उनले उल्लेख गरेका छन्।

तर त्यसै अवधिमा पुल निर्माणको प्रक्रिया अघि बढेको र नेपाल सरकारको बजेट, नेपाली प्राविधिक तथा नेपाली निर्माण व्यवसायीको संलग्नतामा लामो झोलुंगे पुल निर्माण भएको लेखकले बताएका छन्।

ऐतिहासिक महत्व बोकेको पुल चुँडिएपछि त्यस क्षेत्रको आवागमनमा समस्या उत्पन्न भएकाले सरकारले तत्काल आवश्यक प्राविधिक अध्ययन गरी पुनर्निर्माण तथा मर्मतको प्रक्रिया अघि बढाउनुपर्नेमा लेखकले जोड दिएका छन्। उनले पुललाई दोधारा–चाँदनीको यातायात र सामाजिक जीवनसँग जोडिएको महत्वपूर्ण संरचनाका रूपमा उल्लेख गर्दै यसको पुनःस्थापनालाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।