चाडपर्वमा सडक सुरक्षा कडाइ : दुर्घटना, यात्रु ठगी र ‘ननस्टप’ सवारी रोक्न ट्राफिक–यातायातकर्मीबीच छलफल

Image
Nisarga Hospital

अत्तरियाः  चाडपर्व नजिकिएसँगै यात्रुको चाप बढ्ने र त्यसबाट दुर्घटना, यात्रु ठगी तथा यातायात व्यवस्थापनमा चुनौती थपिन सक्ने भन्दै अत्तरियामा ट्राफिक प्रहरी र यातायात क्षेत्रका सरोकारवालाबीच छलफल भएको छ।

CP Hospital Dhangadhi

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीको आह्वानमा भएको छलफलमा सुदूरपश्चिमका विभिन्न जिल्लाका यातायात प्रालिका पदाधिकारी, संघ–संगठनका अध्यक्ष तथा यातायात मजदुर सहभागी थिए।

छलफलमा यात्रुको चापसँगै बढ्न सक्ने दुर्घटना, यात्रु ठगी, अव्यवस्थित टिकट बिक्री, चालकको थकान, सवारीको यान्त्रिक अवस्था तथा मादक र लागू पदार्थ सेवन गरी सवारी चलाउने विषयमा गम्भीर छलफल गरिएको थियो।

nawajiwan

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले चाडपर्वमा यात्रु ठगीका घटना बढ्न सक्ने भन्दै आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट काट्न यात्रुलाई आग्रह गरे। होटल तथा अन्य स्थानबाट टिकट काट्ने प्रवृत्तिले यात्रु समस्यामा पर्ने उनको भनाइ थियो।

लामो दूरीका सवारीमा दुई चालक भए पनि निरन्तर ‘ननस्टप’ सञ्चालन गर्दा चालकले पर्याप्त आराम नपाउने र दुर्घटनाको जोखिम बढ्ने उनले बताए। सवारीको यान्त्रिक परीक्षणमा समेत व्यवसायीले विशेष ध्यान दिनुपर्ने सापकोटाको भनाइ थियो।

Attariya Hospital

महाकाली बहुउद्देश्यीय प्रालिका निवर्तमान अध्यक्ष डम्मर पन्तले चाडपर्वमा मात्र नभई वर्षभरि नै सडक सुरक्षा अभियान प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई निश्चित समय सार्वजनिक सवारी सञ्चालनबाट रोक्ने गरी कडा व्यवस्था गर्नुपर्ने बताए। परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

मजदुर संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष केशव पन्तले सडकको अवस्था, चालकको व्यवहार र ट्राफिक नियमको पालना दुर्घटना न्यूनीकरणका महत्वपूर्ण आधार भएको बताए।

छलफलमा सार्वजनिक सवारीमा यात्रु सहायता कक्ष स्थापना, आधिकारिक काउन्टरबाट मात्रै टिकट बिक्री, टिकटमा यात्रु तथा सवारीको विवरण स्पष्ट उल्लेख, क्षमताभन्दा बढी यात्रु नराख्ने, चालकलाई पर्याप्त आराम, सवारीको यान्त्रिक परीक्षण तथा मादक पदार्थ सेवनविरुद्धको जाँच कडाइ गर्ने विषयमा जोड दिइएको थियो।

चाडपर्व लक्षित गरी प्रमुख चोकमा हेल्प डेस्क स्थापना गरेर यात्रुलाई आवश्यक सूचना तथा सहजीकरण उपलब्ध गराउने जानकारीसमेत दिइएको छ। सहभागीहरूले सुरक्षित, व्यवस्थित र यात्रुमैत्री यातायातका लागि प्रहरी, व्यवसायी र मजदुरबीच निरन्तर समन्वय आवश्यक रहेको बताएका छन्।