
आज २०८३ साल असोज १५ गते बिहीबार अर्थात् सन् २०२६ अक्टोबर १ तारिख। आज असोज कृष्ण पक्षको पञ्चमी तिथि तथा पञ्चमी श्राद्ध परेको छ। धार्मिक मान्यताअनुसार बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान विष्णुको पूजा गर्ने गरिन्छ। यस दिन व्रत बस्दा धन, पुत्र तथा विद्या प्राप्त हुने विश्वास रहँदै आएको छ।

बिहीबार भगवान विष्णुसँगै उहाँकी पत्नी लक्ष्मीको समेत पूजा गर्ने परम्परा छ। पूजा गर्न बिहान स्नान गरी शुद्ध भएर पहेँलो वस्त्र धारण गर्ने, पहेँलो फूल तथा चन्दन अर्पण गर्ने गरिन्छ। त्यसपछि भगवान विष्णुलाई प्रसाद चढाएर पूजा गर्ने चलन छ।

धार्मिक मान्यताअनुसार बिहीबारको व्रत कम्तीमा सात महिना वा १३ महिनासम्म लिनुपर्छ। व्रतका क्रममा ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जाप गर्ने परम्परा रहेको छ। बिहीबार व्रत तथा पूजा गरेमा भगवान विष्णु र बृहस्पतिको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ।































