
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आज (असोज १५) देखि वडा अधिवेशन सुरु गर्दैछ। पार्टीको अर्को पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै देउवा पक्षले छुट्टै कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाएको हो।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। प्रस्तावित तालिकाअनुसार असोज २० गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ। उक्त कार्यतालिकाबारे देउवा पक्षले निर्वाचन आयोगलाई समेत जानकारी गराएको छ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्दै आफ्नो नेतृत्वमा महाधिवेशन हुनुपर्ने दाबी गर्दै आएको छ। पार्टीभित्रको महाधिवेशन तथा आधिकारिकतासम्बन्धी विवादका बीच दुवै पक्षले छुट्टाछुट्टै प्रक्रिया अघि बढाएका छन्। यसले कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया थप जटिल बनेको छ।

देउवा पक्षीय १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले वडा अधिवेशनलाई पार्टीको संगठनात्मक जीवनका दृष्टिले महत्वपूर्ण चरणका रूपमा उल्लेख गर्दै नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई सक्रियताका साथ सहभागी हुन आग्रह गरेका छन्। उनले आपसी सद्भाव, सहकार्य र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राखेर अधिवेशन सफल बनाउन आह्वान गरेका छन्।






























