
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले नगरका विभिन्न स्थानका सडक कालोपत्र तथा निर्माणका लागि ८ करोड ३६ लाख रुपैयाँभन्दा बढीको ठेक्का आह्वान गरेको छ। नगरपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै वडा नम्बर १ देखि १२ सम्मका विभिन्न सडकलाई समेटेर १३ वटा प्याकेजमा बोलपत्र आह्वान गरेको हो।
नगरपालिकाका अनुसार १३ वटै प्याकेजको कुल अनुमानित लागत ८ करोड ३६ लाख १९ हजार ३ सय ३२ रुपैयाँ रहेको छ। यसअन्तर्गत विभिन्न वडाका सडक कालोपत्र, निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइनेछ।
ठेक्कामध्ये सबैभन्दा बढी लागतको प्याकेज वडा नम्बर ११ का विभिन्न स्थानका सडक कालोपत्रका लागि रहेको छ। उक्त कामका लागि ७७ लाख ९७ हजार ८ सय ३९ रुपैयाँ अनुमान गरिएको छ।
त्यस्तै, वडा नम्बर २ का विभिन्न स्थानमा सडक कालोपत्र गर्न ७६ लाख ५२ हजार ४ सय १२ रुपैयाँ तथा वडा नम्बर ३ का सडकका लागि ७४ लाख ८ हजार ७ सय ५ रुपैयाँ लागत अनुमान गरिएको छ।
नगरपालिकाले वडा नम्बर १ देखि १२ सम्मका विभिन्न स्थानमा आवश्यकताका आधारमा सडकका प्याकेज बनाएर ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ। सडक कालोपत्रको काम अघि बढेसँगै नगरका ग्रामीण तथा बजार क्षेत्रका सडकको अवस्था सुधार हुने अपेक्षा गरिएको छ।


































