
अत्तरिया: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्की भारी मतान्तरसहित निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मतगणनामा कार्कीले ४८७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी विजयबहादुर कुँवरले ९७ मत प्राप्त गरे।

क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि चयनका लागि सर्वसम्मत रूपमा नेतृत्व टुंग्याउने प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व र प्रतिनिधि चयन गरिएको हो।
महाधिवेशन प्रतिनिधिको खुला महिलातर्फ तुलसी देवकोटाले ४५५, ईश्वरी कठायतले ४४०, ललिता पाठकले ३९६ र ईश्वरी रावलले ३८५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
त्यस्तै खुला पुरुषतर्फ गोरख विष्ट ‘आनन्द’ले सर्वाधिक ५६० मत प्राप्त गरेका छन्। लोकराज पाण्डेय ‘आगो’ले ४५२, ध्रुवराज भट्टराईले ३८८, बसन्त रोकायाले ३४६, खेमबहादुर साउँदले ३४४, पुष्पराज जोशीले ३२९, विष्णुप्रसाद भाटले ३०८, भोजबहादुर बमले ३०६, पदमराज भट्टले २८१ र रोशन सिंहले २८० मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

यसैगरी पेशागत विषय विज्ञतर्फ टेकराज अवस्थी २९८ मतसहित निर्वाचित भएका छन्। युवा महिलातर्फ रोशनी शाहले ३४७ मत प्राप्त गरेकी छन् भने युवा खुलातर्फ दीपकराज ओझाले ४०६ र भुवन महराले २५७ मत प्राप्त गरेका छन्।

प्रजातन्त्र सेनानीतर्फ विक्रमबहादुर खड्का ४१४ मतसहित तथा आदिवासी जनजातितर्फ यज्ञबहादुर चौधरी ४७० मतसहित निर्वाचित भएका छन्।
कैलाली क्षेत्र नम्बर ४ मा सम्पन्न निर्वाचनले क्षेत्रीय नेतृत्वसँगै विभिन्न समावेशी समूहबाट महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ।































