
कैलालीः कैलालीको गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन जना शिक्षक पक्राउ परेका छन्। दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्यायलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जना शिक्षकलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराका अनुसार उजुरीका आधारमा शिक्षकहरूलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाइएको हो।
विद्यालयमा दलित समुदायका विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षिका तथा कार्यालय सहयोगीमाथि जातीय आधारमा विभेदपूर्ण व्यवहार गरिएको आरोप लगाइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई तथा दलित समुदायका विद्यार्थीमाथि जातीय विभेद गरिएको विद्यालय समितिका सदस्य कैलाश आउजीले बताएका छन्।


घटनाबारे जानकारी सार्वजनिक भएपछि स्थानीयवासी, विद्यार्थीका अभिभावक तथा विभिन्न सरोकारवालाले विद्यालयमा भएको भनिएको जातीय विभेदको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले विद्यालयजस्तो संवेदनशील क्षेत्रमा जातीय आधारमा हुने कुनै पनि प्रकारको विभेद र छुवाछुतको घटनामाथि गम्भीर अनुसन्धान आवश्यक रहेको बताएका छन्।
प्रहरीले घटनासँग सम्बन्धित पक्षहरूको बयान तथा उपलब्ध प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। अनुसन्धानबाट आरोप पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइनेछ।
नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई निषेध गरेको छ। जातका आधारमा गरिने विभेद तथा छुवाछुतलाई कानुनले समेत दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ।






























