
अत्तरिया : देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशका अधिकांश भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।


आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीसँगै बिहानीपख हुस्सु लाग्ने सम्भावना छ।
कोशीका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा तथा बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।






























