
दार्चुला : भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका सिल्ट सफाइका लागि खोलिने भएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म ४८ घण्टा बाँधका ढोका खोलिनेछन्। यस अवधिमा महाकाली नदीको जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन तपोवन भारतबाट प्राप्त सूचनाका आधारमा प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बाँध खोलिने अवधिमा नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताए।

विशेषगरी व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्म महाकाली नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ। २८० मेगावाट क्षमताको धौलीगङ्गा परियोजनाले वर्षातको समयमा सिल्ट सफाइका लागि समय–समयमा बाँधका ढोका खोल्ने गरेको प्रशासनले जनाएको छ।






























