धनगढीमा राति १० बजेपछि व्यवसाय बन्द गराउने नियम : अस्पताल क्यान्टिनमा भने किन छुट?

Image
Nisarga Hospital

धनगढी : धनगढीमा राति १० बजेपछि अनुमति नलिएका होटल, पसल तथा व्यवसाय बन्द गराउन प्रहरी प्रशासनले कडाइ गरिरहेका बेला चटकपुरस्थित केयरटेकर अस्पतालअगाडि सञ्चालित भनिएको क्यान्टिन भने अबेरसम्म खुला रहने गरेको विषयले प्रश्न उठाएको छ।

CP Hospital Dhangadhi

क्यान्टिन राति १० बजेपछि पनि सञ्चालन हुने गरेको गुनासो आएपछि सञ्चारमाध्यमले निरन्तर फलोअप गर्दै आएको जनाइएको छ। यस क्रममा वडा प्रहरी कार्यालय धनगढीका इन्सपेक्टर बलराम पाण्डेलाई पटक–पटक जानकारी गराइएको बताइएको छ। तर, जानकारी गराउँदा पनि क्यान्टिन बन्द नभएको भन्दै प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दलाई समेत यसबारे जानकारी गराउँदा उनले चटकपुर क्षेत्रमा खटिएका प्रहरीलाई राति १० बजेपछि क्यान्टिन बन्द गराउन निर्देशन दिइसकेको बताएका थिए। कार्यालयका डीएसपी तथा प्रवक्ता योगेन्द्र तिमिल्सिनाले पनि क्यान्टिन बन्द गराउने प्रयास भइरहेको बताएका छन्।

nawajiwan
Attariya Hospital

तर जिल्ला प्रहरी प्रमुखको निर्देशन र प्रवक्ताको भनाइपछि पनि क्यान्टिन सञ्चालनमा रहेको दाबी गरिएपछि निर्देशन कार्यान्वयन गर्ने तहमा प्रश्न उठेको छ।
धनगढीका अन्य व्यवसायमा भने राति १० बजेपछि नियम कार्यान्वयन भइरहेको बताइएको छ। धनगढी चौराहास्थित अण्डा पसल बन्द गराइएको तथा सेती प्रादेशिक अस्पतालअगाडिको क्याफेलाई समेत १० बजेपछि बन्द गर्न निर्देशन दिइएको जनाइएको छ।

त्यसैले चटकपुरस्थित अस्पताल क्यान्टिनमा पनि सोही नियम लागू हुने हो वा छुट्टै कानुनी व्यवस्था छ भन्ने विषय स्पष्ट पार्नुपर्ने देखिन्छ। यदि सञ्चालनको अनुमति छ भने त्यसको कानुनी आधार सार्वजनिक गर्नुपर्ने र अनुमति छैन भने प्रहरीको निर्देशन कार्यान्वयन हुन नसकेको कारण सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने प्रश्न उठेको छ।

यसैबीच, क्यान्टिन सञ्चालनमा कुनै पहुँचवाला व्यक्ति वा निकायको प्रभाव रहेको स्रोतको दाबी भए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। त्यसैले सम्बन्धित प्रहरी अधिकारीको आधिकारिक धारणा र क्यान्टिन सञ्चालकसँगको कानुनी अनुमति तथा व्यवस्थाबारे स्पष्टता आवश्यक देखिन्छ।