
अत्तरिया: कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बिहीबार बिहान करिब ५ बजे च्याउ खोज्न जंगल गएका स्थानीय अन्दाजी ४० वर्षीय कृष्ण चौधरीलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरी स्थानीय शिवलाल राना र हंस रानासँगै च्याउ खोज्न जंगल गएका थिए। बाघले आक्रमण गरेपछि उनीसँगै गएका दुई जना भागेर ज्यान जोगाउन सफल भएका छन्।
घटनापछि प्रहरी टोली घटनास्थलतर्फ पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































