
अत्तरियाः यस वर्षको दसैं र तिहारका लागि नागरिकले सहज रूपमा नयाँ नोट साट्न पाउने भएका छन्। विगतका वर्षमा जस्तो नेपाल राष्ट्र बैंकले सूचना जारी गरी निश्चित दिन तोकेर मात्रै नयाँ नोट वितरण नगर्ने भएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोट सटही सुविधा निरन्तर उपलब्ध गराइएको छ।
नागरिकले आफूलाई पायक पर्ने नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत नयाँ नोट साट्न सक्नेछन्। बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई वितरण गर्न राष्ट्र बैंकबाट आवश्यक नयाँ नोटसमेत लिइसकेका छन्।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार यस वर्ष नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले सटहीमा समस्या नहुने अपेक्षा गरिएको छ। नागरिकलाई आवश्यकताअनुसार एक–दुई सेट नयाँ नोट सटही गर्ने सुविधा दिइएको उनले बताए।
राष्ट्र बैंकले दसैं, तिहार र छठजस्ता ठूला चाडपर्वका बेला नयाँ नोटको माग बढ्ने गरेको जनाएको छ। विगतमा चाडपर्व नजिकिँदै गर्दा निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्ने गरिएको थियो। तर, यस वर्ष नागरिकलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाका शाखाबाटै नयाँ नोट उपलब्ध हुने व्यवस्था गरिएको हो।
राष्ट्र बैंकले वर्षभरि नै नयाँ तथा सुकिला नोट सटहीको सुविधा दिँदै आएको छ। चाडपर्वका बेला नोटको माग बढ्ने भएकाले नागरिकले आफूलाई आवश्यक पर्ने मात्रामा नोट सटही गर्न सक्नेछन्।































