अत्तरियामा बजार अनुगमनको तीन दिनमै ३० किलो अखाद्य दालसहित ठूलो परिमाणमा खाद्य वस्तु बरामद

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको बजार अनुगमनका क्रममा विभिन्न होटल तथा पसलबाट म्याद नाघेका र अखाद्य खाद्य वस्तु बरामद गरेको छ। शुक्रबार अनुगमनको तेस्रो दिन अत्तरिया बजारको पूर्वरोड, बनखेत, लालपुर र गोदावरी नगरपालिका–८ स्थित स्याउले बजार क्षेत्रमा रहेका होटल तथा किराना पसलको निरीक्षण गरिएको हो।

CP Hospital Dhangadhi

अनुगमनका क्रममा स्याउले बजारको एक पसलबाट भारतीय कम्पनीको मिसावटयुक्त ३० किलो अखाद्य दाल बरामद गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ। त्यसैगरी विभिन्न पसल तथा होटलबाट म्याद नाघेका मसला, अखाद्य आइसक्रिम, अखाद्य रङ मिसाइएको मासु तथा प्रयोग गर्न नमिल्ने प्लास्टिकका चपिङ बोर्ड (कटिङ बोर्ड) लगायतका सामग्री बरामद गरिएको छ।

nawajiwan

नगरपालिकाका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको बजार अनुगमनका क्रममा बरामद भएका अखाद्य तथा म्याद नाघेका सामग्री जफत गरी नष्ट गरिएको छ। चाडपर्वको समयमा खाद्य वस्तुको माग र कारोबार बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्य तथा हितलाई ध्यानमा राख्दै अनुगमनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ।

Attariya Hospital

गोदावरी नगरपालिका आर्थिक विकास शाखाका प्रमुख समुद्र धामीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको बताए। उनका अनुसार बजारमा हुने अवैध कारोबार तथा म्याद नाघेका र अखाद्य वस्तुको बिक्री–वितरण रोक्न अनुगमनलाई तीव्रता दिइएको हो।

धामीले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिँदै थप कडाइका साथ छड्के अनुगमन गरिने बताए। व्यापारीलाई सचेत गराउनुका साथै उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सामग्री बिक्री गरेको पाइएमा जफत गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारे।

नगरपालिकाले व्यापारीहरूलाई खाद्य वस्तुको गुणस्तर र उपभोग्य मिति अनिवार्य रूपमा जाँच गरेर मात्रै बिक्री गर्न आग्रह गरेको छ। त्यस्तै, उपभोक्तालाई पनि सामान खरिद गर्दा प्याकेटमा उल्लेख गरिएको उपभोग्य मिति, उत्पादन विवरण र गुणस्तर जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिएको छ।

चाडपर्वको समयमा बजारमा खाद्य तथा उपभोग्य वस्तुको कारोबार बढ्ने भएकाले उपभोक्ता र व्यवसायी दुवै पक्ष सचेत हुनुपर्नेमा नगरपालिकाले जोड दिएको छ। आगामी दिनमा गरिने छड्के अनुगमनले बजारमा अखाद्य तथा म्याद नाघेका वस्तुको बिक्री–वितरण नियन्त्रणमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।