
अत्तरिया: नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कैलाली क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि रमेश ताम्राकारले केन्द्रीय कार्यसमितिको खुला दलित क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

ताम्राकारले कांग्रेसको स्थापना कालदेखि नै जातीय विभेद र छुवाछूतविरुद्धको अभियान अघि बढाउँदै आएको उल्लेख गर्दै पार्टीको समावेशी तथा समाजवादी आदर्शलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
कांग्रेसको इतिहासमा दलित समुदायको सहभागिता र प्रतिनिधित्वका विभिन्न उदाहरण प्रस्तुत गर्दै उनले पछाडि पारिएका तथा सीमान्तकृत समुदायको अधिकारलाई पार्टीको मूलधारसँग जोड्न आफूले प्राथमिकता दिने बताए।


ताम्राकार लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका छन्। उनी २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्म पार्टीका विभिन्न अभियानमा सक्रिय रहेको बताउँछन्। २०५४ सालदेखि तरुण दलको गाउँ शाखा हुँदै जिल्ला तहसम्म सक्रिय रहेका उनी कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का पूर्व क्षेत्रीय कोषाध्यक्षसमेत हुन्। उनी कांग्रेसको १३औँ महाधिवेशनबाट महासमिति सदस्य बनेका थिए। नेपाल दलित संघ सुदूरपश्चिमको अध्यक्षमा पनि उनी मनोनीत भएका थिए।
ताम्राकारले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, आयआर्जन तथा सीपमूलक कार्यक्रममार्फत रोजगारीका अवसर विस्तार गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्। साथै, कांग्रेसको विधानअनुसार संगठनलाई थप सुदृढ गर्दै समावेशी सिद्धान्तलाई व्यवहारमै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
१५औँ महाधिवेशनका प्रतिनिधिहरूसमक्ष आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै ताम्राकारले सहयोग, समर्थन र सुझावका लागि आग्रह गरेका छन्।






























