अस्ट्रेलियाको विद्यार्थी भिसा नियममा कडाइ, नेपाली विद्यार्थी पनि प्रभावित हुने

Image
Nisarga Hospital

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर २ देखि लागू भएको हो। पछिल्लो नियमबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ।

CP Hospital Dhangadhi

नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको तहभन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। यस्तै, हाल अध्ययन गरिरहेको कोर्स पूरा हुन १२ महिनाभन्दा बढी समय बाँकी रहेको अवस्थामा पनि अनसोर अर्थात् अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन रोक लगाइएको छ।

कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन सक्नेछन्। नयाँ नियमका कारण आवेदन दिन नपाउने विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट अर्थात् अफसोर आवेदन दिनुपर्नेछ।

nawajiwan

यद्यपि, नयाँ व्यवस्था सबै विद्यार्थीमा समान रूपमा लागू हुने छैन। विद्यावारिधि अध्ययनरत विद्यार्थी, विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष परिस्थितिमा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीलाई यस नियमबाट छुट दिइएको बताइएको छ।

Attariya Hospital

भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासमा समेत नयाँ व्यवस्थाले प्रभाव पार्नेछ। अब पुनरावलोकनको आवेदन दिए पनि निर्णय नआएसम्म विद्यार्थीले अस्ट्रेलिया बाहिरै बस्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि नै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारलाई साथमा ल्याउने विषयमा पनि विभिन्न प्रतिबन्ध अघि सारेको थियो। अध्ययनपछि काम गर्न पाउने पोस्ट–स्टडी वर्क भिसामा रहेका विद्यार्थीका परिवारलाई समेत अस्ट्रेलिया ल्याउन नदिने नीति सार्वजनिक भइसकेको छ।

आप्रवासन व्यवस्थापनअन्तर्गत अस्ट्रेलियाले वार्षिक आप्रवासी संख्या करिब ३ लाखबाट घटाएर २ लाख २५ हजार पुर्‍याउने नीति अघि सारेको छ। पछिल्लो समय विद्यार्थी भिसामा समेत निरन्तर कडाइ हुँदै आएको छ। उपलब्ध स्रोतका अनुसार नेपाली विद्यार्थीको भिसा स्वीकृति दरसमेत करिब ३६ प्रतिशतमा झरेको छ।