देशभर मौसम बदली, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

Image
Nisarga Hospital

अत्तरियाः देशभर हाल मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने केही स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ। देशका अधिकांश तराई भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

nawajiwan

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसममा आएको परिवर्तनसँगै विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

रातिको समयमा तराईका भूभागमा पुनः हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसममा क्रमिक परिवर्तन हुन सक्ने भएकाले सर्वसाधारणलाई अद्यावधिक मौसम सूचना हेरेर दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ।