
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया नदीमा नुहाउने क्रममा बेपत्ता भएका १७ वर्षीय दोर्ण सुवेदी मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका–१ निवासी सुवेदी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

स्थानीयका अनुसार उनी अन्य तीन जना साथीसँग खुटिया नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा नदीमा डुबेपछि उनी बेपत्ता भएका थिए। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी सुरु गरेका थिए।

लामो समयको खोजीपछि अबेर राति उनको शव नदीबाट फेला पारेर सुरक्षाकर्मीको संयुक्त टोलीले बाहिर निकालेको प्रहरीले जनाएको छ।

स्थायी घर बझाङ भएका सुवेदी धनगढीको सरस्वती माध्यमिक विद्यालय, मनेहरामा सिभिल इन्जिनियरिङ चौथो सेमेस्टरमा अध्ययनरत थिए। उनको मृत्युले परिवार, साथीभाइ तथा विद्यालय समुदायमा शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






























