
बैतडीः जिल्ला भलिबल संघको नयाँ कार्यसमिति गठनलाई लिएर बैतडीमा विवाद चर्किएको छ। असोज १३ गते सम्पन्न अधिवेशनबाट बसन्तप्रकाश विष्टको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिए पनि प्रक्रिया विधानविपरीत भएको भन्दै अध्यक्षका आकांक्षी शंकर भण्डारी (सागर)ले आपत्ति जनाएका छन्।

भण्डारीका अनुसार बन्दसत्रमा सहमति हुन नसकेपछि प्रतिनिधिहरू घर फर्किएलगत्तै होटलमा बसेर समिति गठन गरिएको थियो। बन्दसत्रमा उपाध्यक्षमा आफ्नो नाम सर्वसम्मत भएको भिडियोसमेत सार्वजनिक गर्दै उनले पछि सार्वजनिक गरिएको कार्यसमितिमा आफ्नो नाम हटाइएको आरोप लगाएका छन्।

यता जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले भने आफ्नो क्षेत्राधिकार र विधानअनुसार नै संघ गठन गरिएको दाबी गरेका छन्। जिल्लाका विभिन्न क्षेत्रलाई समेट्ने क्रममा भण्डारीको नाम उपाध्यक्षबाट हटेको उनको भनाइ छ। अधिवेशनबाट भण्डारीलाई प्रदेश प्रतिनिधि चयन गरिएको दाबीसमेत चन्दले गरेका छन्।

यसअघि असोज ४ गतेका लागि तय गरिएको अधिवेशन पनि विवादकै कारण स्थगित भएको थियो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेम चन्द, उपाध्यक्षमा अशोकबहादुर चन्द, सचिवमा देव महरा र कोषाध्यक्षमा सरस्वती खत्री बोहरा चयन भएका छन्। भण्डारीले भने संघ पुनः गठनको माग गरेका छन्।






























