
धनगढीः धनगढीमा अब आफूलाई मन परेको रेस्टुरेन्टको खाना तथा खाजा घर, कार्यालय वा आफू रहेकै स्थानमा मगाउन सकिने भएको छ। ‘कान्छा दाई’ एपमार्फत खाना तथा खाजा घरमै पुर्याउने होम डेलिभरी सेवा शुक्रबारदेखि धनगढीमा औपचारिक रूपमा सुरु गरिएको हो।

सुदूरपश्चिमका लागि ‘कान्छा दाई’को फ्रेन्चाइजी मनुश्री मल्टीसर्भिस प्राइभेट लिमिटेडले सेवा सञ्चालनमा ल्याएको हो। सेवा शुभारम्भको अवसरमा कम्पनीले ग्राहकका लागि तीन दिनसम्म २० प्रतिशत छुटसँगै निःशुल्क डेलिभरीको व्यवस्था गरेको जनाएको छ।
सुरुवाती चरणमा धनगढीका विभिन्न लोकप्रिय रेस्टुरेन्ट तथा खाद्य व्यवसायलाई एपमा आबद्ध गरिएको छ। ग्राहकले ब्रेड बक्स, पोटली, वल्र्ड हाउस बेकरी, गौतम फास्ट फुड र हेम फुडलगायतका व्यवसायबाट आफूलाई मन परेको खाना तथा खाजा छनोट गरी एपमार्फत अर्डर गर्न सक्नेछन्।

मनुश्री मल्टीसर्भिस प्राइभेट लिमिटेडका सञ्चालक दिनेश बोहराका अनुसार रेस्टुरेन्टसम्म पुगेर खाना खान समय नपाउने तथा घर वा कार्यालयमै खाना मगाउन चाहने ग्राहकलाई लक्षित गर्दै सेवा सुरु गरिएको हो।
उनका अनुसार ‘कान्छा दाई’ एपमा उपलब्ध रेस्टुरेन्ट तथा खाद्य व्यवसायबाट ग्राहकले आफूलाई मन परेको परिकार छनोट गरी अर्डर गर्न सक्नेछन्। अर्डर प्राप्त भएपछि ग्राहकले उपलब्ध गराएको स्थानमै खाना तथा खाजा पुर्याइनेछ।

“घर वा कार्यालयबाटै आफूलाई मन परेको खाना तथा खाजा अर्डर गर्न सकिने भएकाले ग्राहकलाई थप सहज हुनेछ,” बोहराले भने।
‘कान्छा दाई’ एप एन्ड्रोइड तथा आइफोन दुवैमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। एपमार्फत ग्राहकले आफूलाई आवश्यक परेको समयमा खाना तथा खाजा अर्डर गर्न सक्नेछन्।
कम्पनीका अनुसार ‘कान्छा दाई’को सेवा धनगढीसँगै नेपालगन्ज, कोहलपुर, दाङ र जोमसोमलगायतका क्षेत्रमा समेत सञ्चालनमा रहेको छ। धनगढीमा सेवा विस्तारपछि आगामी चरणमा महेन्द्रनगर र अत्तरियामा समेत सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक बोहराले जानकारी दिए।
धनगढीमा यसअघि विभिन्न रेस्टुरेन्ट तथा खाद्य व्यवसायबाट एपमार्फत खाना अर्डर गरी घरमै पुर्याउने सेवा सीमित रूपमा मात्र उपलब्ध थियो। ‘कान्छा दाई’को प्रवेशसँगै ग्राहकले आफू रहेको स्थानबाटै विभिन्न परिकार छनोट गरी अर्डर गर्न सक्ने भएका छन्।
विशेषगरी व्यस्त कार्यालय समय, घरबाट बाहिर निस्कन नसक्ने अवस्था तथा रेस्टुरेन्टसम्म पुग्न समय नहुने ग्राहकका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ। नयाँ सेवासँगै धनगढीको खाद्य तथा रेस्टुरेन्ट व्यवसायमा डिजिटल अर्डर र होम डेलिभरीको अभ्यास थप विस्तार हुने देखिएको छ।





























