
कैलालीः कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले विभिन्न स्वास्थ्य सेवाका १५१ पदमा कर्मचारी माग गर्दा एक हजार ६६९ जनाको आवेदन परेको छ। करार सेवामा कर्मचारी पदपूर्तिका लागि आह्वान गरिएको आवेदनमध्ये योग्यता पुगेका ५४४ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्।

विश्वविद्यालयको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी छनोटसम्बन्धी निर्देशिकाअनुसार योग्य उम्मेदवारको वर्णानुक्रमका आधारमा संक्षिप्त सूची सार्वजनिक गरिएको हो। परीक्षा समितिका अनुसार मेडिकल अधिकृतका १० पदमा ६० आवेदन परेकामा २९ जना, बायोमेडिकल इन्जिनियरको एक पदमा नौमध्ये छ जना तथा नर्सिङ अधिकृतका १० पदमा ११२ मध्ये ६९ जना सर्टलिस्ट भएका छन्।

त्यस्तै, रेडियोग्राफी अधिकृतको एक पदमा १० जनामध्ये पाँच जना, फार्मेसी अधिकृतका दुई पदमा ४८ मध्ये सात जना, फिजियोथेरापी अधिकृतका दुई पदमा छमध्ये पाँच जना र ल्याब टेक्नोलोजिस्टका तीन पदमा ५९ आवेदनमध्ये २५ जना संक्षिप्त सूचीमा परेका छन्।

सबैभन्दा बढी प्रतिस्पर्धा स्टाफ नर्स पदमा देखिएको छ। ९० पदका लागि ५४२ जनाले आवेदन दिएकामा १८५ जना सर्टलिस्ट भएका छन्। त्यस्तै, ल्याब टेक्निसियनका १० पदमा ३१८ आवेदनमध्ये ८० जना र रेडियोग्राफरका छ पदमा ८२ आवेदनमध्ये ३९ जना छनोट भएका छन्।
फिजियोथेरापी सहायकका दुई पदमा नौमध्ये छ जना तथा फार्मेसी सहायकका १० पदमा ३८४ जनामध्ये ७१ जना संक्षिप्त सूचीमा परेका छन्।
विश्वविद्यालयका अनुसार अब सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता लिइनेछ। अन्तर्वार्ता असोज २० गतेदेखि सुरु हुने र त्यसपछि योग्य उम्मेदवारलाई करार सेवामा नियुक्त गरिने जनाइएको छ।
५४४ जना सर्टलिस्ट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।






























