
अत्तरियाः विद्यालय जाने उमेरका बालबालिकालाई लक्षित गर्दै अत्तरियाका केही होटल तथा पसलले विद्यालय पोसाकमै रहेका विद्यार्थीलाई समेत चुरोट, मदिरा र अन्य पदार्थ बिक्री गर्ने गरेको गुनासो सार्वजनिक भएको छ।

गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरसिंह महताका अनुसार अभिभावकबाट लिखित गुनासो आएपछि विद्यालयले गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो। विद्यालय पोसाकमै रहेका बालबालिकालाई केही व्यवसायीले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्ने गरेको पाइएको महताले बताए।

बालबालिकाको स्वास्थ्य र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले विद्यालय आसपास यस्ता पदार्थको बिक्री तत्काल रोक्नुपर्ने उनको भनाइ छ। विद्यालयले यसअघि नै इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरिया उद्योग वाणिज्य संघ र गोदावरी होटल व्यवसायी संघलाई विद्यालय क्षेत्र आसपास चुरोट, मदिरा तथा अन्य सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गर्न आग्रह गर्दै पत्राचार गरेको जनाएको छ।
तर पत्राचारपछि पनि सम्बन्धित निकायबाट अपेक्षित चासो नदेखिएको प्रधानाध्यापक महताले गुनासो गरेका छन्।

अनुगमनका क्रममा विद्यालयले विद्यार्थीको अर्को गतिविधिसमेत फेला पारेको जनाएको छ। केही विद्यार्थी विद्यालय जाने भन्दै घरबाट निस्किएपछि बाटोमै विद्यालय पोसाक परिवर्तन गरेर अन्यत्र जाने गरेको पाइएको महताले बताए। उनका अनुसार केही विद्यार्थीले झोलामा विद्यालय पोसाक बोकेर जाने, बाटोमा पोसाक परिवर्तन गर्ने र विद्यालय समय सकिएपछि पुनः पोसाक लगाएर घर फर्किने गरेका छन्।
यस्ता विद्यार्थीले घरमा अभिभावकले गृहकार्य वा पढाइबारे सोध्दा विद्यालयमा पढाइ नै नभएको बताउने गरेको समेत पाइएको विद्यालयको भनाइ छ।
विद्यालयले बालबालिकालाई लक्षित गरी सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री नगर्न व्यवसायीलाई आग्रह गरेको छ। साथै अभिभावकलाई पनि आफ्ना बालबालिकाको दैनिक गतिविधि, संगत र आनीबानीबारे नियमित निगरानी गर्न आग्रह गरिएको छ।
कानुनले समेत बालबालिका र विद्यालय क्षेत्रलाई लक्षित गरी यस्ता पदार्थको बिक्रीमा रोक लगाएको छ। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी कानुनले १८ वर्षमुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न तथा शिक्षण संस्थाको कम्तीमा १०० मिटर वरिपरि यस्ता पदार्थ बिक्री–वितरण गर्न रोक लगाएको छ। त्यस्तै, मदिरासम्बन्धी कानुनले पनि १८ वर्षमुनिका बालबालिकालाई मदिरा बिक्री वा सेवन गराउन निषेध गरेको छ।
विद्यालय, अभिभावक, व्यवसायी र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन सके बालबालिकालाई कुलतबाट जोगाउनुका साथै विद्यालय बाहिर हुने विद्यार्थीका गतिविधिमाथि समेत निगरानी बढाउन सकिने देखिन्छ।






























