
भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधबाट महाकाली नदीमा पानी छोड्न थालिएको छ। बाँधको जलाशयमा जम्मा भएको सिल्ट (गेग्रान) सफा गर्न शनिबार बिहान १ बजेदेखि बाँधका ढोका खोलिएको हो।
एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेसनका अनुसार जलाशयमा जम्मा भएको सिल्ट हटाउन ४८ घण्टासम्म ‘सिल्ट फ्लसिङ’ गरिनेछ। असोज १७ गते बिहान १ बजेदेखि सुरु भएको यो प्रक्रिया असोज १९ गते बिहान १ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
बाँधबाट पानी छोडिएसँगै त्यसको प्रभाव क्रमशः महाकाली नदीको तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनका अनुसार असोज १७ देखि १९ गतेसम्म मात्रै नभई त्यसपछि पनि महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी आसपासका क्षेत्रमा विशेष सावधानी आवश्यक छ।
धौलीगंगा बाँधबाट पानी छोड्ने पूर्वनिर्धारित कार्यक्रम यसअघि असोज ११ र १२ गतेका लागि तय गरिएको थियो। तर त्यस समयमा लगातार वर्षा भइरहनुका साथै महाकाली नदीमा पानीको बहावसमेत बढेकाले उक्त कार्यक्रम स्थगित गरिएको थियो। अहिले मौसम तथा नदीको अवस्थालाई ध्यानमा राख्दै सिल्ट फ्लसिङ पुनः सुरु गरिएको हो।
बाँधबाट छोडिएको पानी महाकाली नदीमा मिसिएपछि तल्लो तटीय क्षेत्रमा नदीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले प्रशासनले नदीमा माछा मार्न, दाउरा संकलन गर्न, फोटो तथा भिडियो खिच्न तथा अन्य कामका लागि नदी किनार वा नदीभित्र नजान आग्रह गरेको छ।
विशेषगरी नदी किनारमा बसोबास गर्ने परिवार, किसान, मजदुर तथा दैनिक कामका लागि नदी क्षेत्रमा पुग्ने व्यक्तिहरूलाई थप सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले महाकाली नदीको जलस्तर र बहावमा भइरहेको परिवर्तनको निगरानी गरिरहेका छन्। नदीको अवस्था जोखिमपूर्ण देखिएमा तत्काल सुरक्षित स्थानमा जान र प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचना तथा निर्देशनको पालना गर्न नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ।
































