
कञ्चनपुरः महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको दोधारा–चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माणमा थप चुनौती देखिएको छ। बाढीले ढालेको पिल्लरसँगै पुलका दायाँ–बायाँ रहेका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा भेटिएपछि ती पनि फेर्नुपर्ने हुनसक्ने प्राविधिक टोलीले जनाएको छ।
सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा रहेको प्राविधिक टोलीले शुक्रबार पुलको स्थलगत निरीक्षण गरेको हो। निरीक्षणका क्रममा बाढीका कारण एउटा पिल्लर पूर्णरूपमा ढलेको र आसपासका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाइएको अधिकारीले बताए।
उनका अनुसार महाकालीमा आएको तीव्र बहावले पिल्लरको फाउन्डेसन आसपासको माटो तथा संरचना बगाउँदा पुलमा क्षति पुगेको हो। अहिले पनि नदीमा पानीको बहाव उच्च रहेकाले पुलको वास्तविक क्षतिको अवस्था यकिन गर्न कठिन भइरहेको उनले बताए। पानीको सतह घटेपछि मात्रै संरचनाको विस्तृत अवस्था स्पष्ट हुने प्राविधिक टोलीको भनाइ छ।
कमजोर देखिएका पिल्लरहरू पनि क्षतिग्रस्त पुष्टि भए नयाँ निर्माण गर्नुपर्ने अवस्था आउन सक्छ। पुलका अन्य संरचनामा समेत गम्भीर क्षति भेटिए ती संरचना खोल्दै पुनः निर्माण तथा जडान गर्नुपर्ने हुनसक्ने अधिकारीले बताए।
त्यस्तो अवस्था आए पुल पुनर्निर्माण प्रक्रिया लामो हुने र पुल पूर्णरूपमा सञ्चालनमा आउन करिब एक वर्षसम्म लाग्न सक्ने अनुमान गरिएको छ। विस्तृत प्राविधिक अध्ययनपछि मात्रै पुनर्निर्माणको विधि, लागत र आवश्यक बजेट टुंगो लाग्नेछ।
अधिकारीका अनुसार पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको मात्रै स्रोत पर्याप्त नहुने भएकाले संघीय सरकारको समेत सहयोग आवश्यक पर्नेछ।
महाकाली नदीमा आएको बाढीले असोज १४ गते पुलको एक भागमा क्षति पुर्याएपछि दोधारा–चाँदनी र भीमदत्तनगरबीचको नियमित आवागमन प्रभावित छ। पुलमा थप क्षतिको अवस्था र पुनर्निर्माणको समयबारे भने पानीको बहाव घटेपछि गरिने विस्तृत प्राविधिक अध्ययनले स्पष्ट पार्नेछ।
































