
अत्तरिया: दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र यात्राका क्रममा विभिन्न समस्या तथा गुनासो आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीले सहायता कक्ष स्थापना गरेका हुन्।

यात्रु सहायता कक्षको आइतबार एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले रिबन काटेर उद्घाटन गरेका हुन्।
उद्घाटनपछि बोल्दै डिआइजी भट्टराईले चाडपर्वका समयमा यात्रु तथा सर्वसाधारणले भोग्नुपर्ने समस्या तत्काल सम्बोधन गर्न सहायता कक्ष प्रभावकारी हुने बताए। यात्रुको सहजता, सुरक्षा तथा गुनासो व्यवस्थापनलाई प्राथमिकतामा राखेर सहायता कक्ष सञ्चालन गरिएको उनको भनाइ थियो।

उनले यात्रु तथा यातायात व्यवसायीका समस्यालाई समेत ध्यानमा राख्दै प्रहरी कर्मचारीलाई जिम्मेवार र सजग भएर सेवा प्रवाह गर्न निर्देशन दिए। चाडपर्वको समयमा यात्रुको अत्यधिक चाप हुने भएकाले सवारी साधनको नियमित अनुगमन, ट्राफिक नियमको पालना तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

सहायता कक्षमार्फत यात्रुले टिकट, भाडादर, सवारी साधन, यात्रा सुरक्षा तथा अन्य समस्यासम्बन्धी गुनासो र जानकारी लिन सक्नेछन्। यात्राका क्रममा कुनै समस्या वा असहजता भएमा सम्बन्धित प्रहरी तथा ट्राफिक प्रहरीसँग तत्काल सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ।
अत्तरियामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यलगायत प्रहरी अधिकारी तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।
प्रहरीका अनुसार चाडपर्वलाई लक्षित गर्दै कैलाली जिल्लाका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिनेछ। चाडपर्वको समयमा यात्रुको सुरक्षा, सहज आवागमन र यातायात क्षेत्रमा हुन सक्ने अनियमितता नियन्त्रणका लागि सहायता कक्षसँगै राजमार्ग तथा प्रमुख सडकखण्डमा प्रहरी र ट्राफिक प्रहरीको निगरानीसमेत बढाइने बताइएको छ।
यात्रु सहायता कक्ष सञ्चालनसँगै लामो दूरीको यात्रा गर्ने यात्रु, महिला, ज्येष्ठ नागरिक तथा बालबालिकालाई विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ। चाडपर्वमा घर फर्किने तथा गन्तव्यतर्फ जाने यात्रुलाई सुरक्षित र सहज यात्रा गराउन प्रहरी सक्रिय रहने जनाएको छ।






























