बाजुरामा २५ वर्षमा ९ किलोमिटर मात्रै कालोपत्रे, मार्तडी–कोल्टी सडक निर्माण अझै अधुरै

Image
Nisarga Hospital

बाजुराको सदरमुकाम मार्तडीलाई जिल्लाको पूर्वी–उत्तरी क्षेत्र हुँदै कर्णाली प्रदेशका हुम्ला र मुगुसँग जोड्ने रणनीतिक महत्वको मार्तडी–कोल्टी सडक निर्माण थालेको २५ वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन। करिब ४२ किलोमिटर लामो सडकमा अहिलेसम्म करिब ९ किलोमिटर मात्रै कालोपत्रे भएको छ। निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयको आवतजावतदेखि दैनिक उपभोग्य वस्तुको ढुवानी र व्यापारसम्म प्रत्यक्ष प्रभावित भएको छ।

CP Hospital Dhangadhi

२०५६ सालमा शिलान्यास गरी निर्माण सुरु गरिएको यो सडकमा तत्कालीन जिल्ला विकास समिति बाजुराअन्तर्गत खाद्यान्न कार्यक्रम (आरसीआईडब्ल्यू) मार्फत २०५६ देखि २०६२ सालसम्म ४२ किलोमिटर सडक निर्माणमा ३५ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो। त्यसपछि संघीय तथा प्रदेश सरकारले समेत सडक स्तरोन्नति र कालोपत्रेका लागि निरन्तर लगानी गर्दै आएका छन्। तर लगानीको तुलनामा सडक निर्माणको गति सुस्त रहँदा स्थानीयले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्।

पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार चुथीदेखि कोल्टीसम्मको सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६/७७ मा करिब ५० करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। तर सम्झौता अवधि समाप्त भइसक्दा पनि सडक पूर्ण रूपमा निर्माण हुन सकेको छैन।

nawajiwan

चुथीदेखि ढम्केनेसम्म करिब पाँच किलोमिटर सडक निर्माणको जिम्मा बानियाँ–कुशेश्वर जेभीले पाएको छ। ढम्केनेदेखि दानसाँघु खोलासम्मको करिब २६ किलोमिटर सडक निर्माणको जिम्मेवारी पीएस बानियाँ निर्माण सेवा जेभीले पाएको छ। कार्यालयका अनुसार पटक–पटक म्याद थप गरिए पनि पीएस बानियाँ निर्माण सेवा जेभीले हालसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ।

Attariya Hospital

निर्माणमा ढिलाइ भएपछि कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दै स्पष्टीकरणसमेत सोधेको जनाएको छ। कार्यालय प्रमुख थापाका अनुसार निर्माण व्यवसायीसँग ढिलाइको कारणबारे स्पष्टीकरण मागिएको छ। प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभए कानुनी प्रक्रियाअनुसार ठेक्का तोड्ने तयारी कार्यालयले गरेको छ।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडक निर्माणलाई गति दिन निर्माण व्यवसायीमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ। मन्त्रालयका सचिव विष्णु भण्डारीका अनुसार ठेक्का तोडेर नयाँ निर्माण कम्पनीलाई जिम्मा दिनुभन्दा सकेसम्म हालकै निर्माण व्यवसायीबाट काम पूरा गराउने प्रयास भइरहेको छ।

मार्तडी–कोल्टी सडक बाजुराको पूर्वी–उत्तरी क्षेत्रका बासिन्दाका लागि मात्रै नभई हुम्ला र मुगुसँगको सडक सम्पर्क विस्तारका दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। सडक निर्माणमा भइरहेको ढिलाइले यातायात सेवा असहज हुनुका साथै ढुवानी खर्च बढाउँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत प्रभावित हुँदै आएको स्थानीयको गुनासो छ। लामो समयदेखि सरकारी लगानी हुँदै आए पनि सडक कालोपत्रेको कामले अपेक्षित गति लिन नसक्दा स्थानीयवासीले अब ठेक्का व्यवस्थापन र निर्माणको स्पष्ट समयसीमा सहित काम अघि बढाउन माग गरेका छन्।