डिस्कभरी सेकेन्डरी स्कुल, धनगढीमा १९औँ छुकछुके रोबोट कार्यशाला सञ्चालन हुँदै

Image
Nisarga Hospital

धनगढी: डिस्कभरी सेकेन्डरी स्कुल, धनगढीमा १९औँ छुकछुके रोबोट कार्यशाला उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। असोज १६ गतेदेखि सुरु भएको उक्त कार्यशाला असोज १९ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।
कार्यशालामा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ। कार्यशालाको मुख्य उद्देश्य विद्यार्थीहरूलाई मेसिनको आधारभूत अवधारणा, आधुनिक युगमा मेसिन निर्माण प्रक्रिया तथा २१औँ शताब्दीको प्रविधिमैत्री सोच बारे व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको छ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले डिजाइन, मापन, मेकानिकल संरचना, गियर प्रणाली, शक्ति स्थानान्तरण, इलेक्ट्रोनिक्स तथा प्रोग्रामिङ सम्बन्धी गतिविधिहरूमा प्रत्यक्ष रूपमा सहभागी हुँदै सिकिरहेका छन्। छुकछुके रोबोट निर्माण प्रक्रियामार्फत उनीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEAM) को एकीकृत प्रयोगात्मक अनुभव प्राप्त गरिरहेका छन्।
विद्यालयका प्रधानाध्यापक योगेन्द्र सिंहले आजको शिक्षाले केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही व्यवहारिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले युवा पुस्तालाई प्रविधिमैत्री र नवप्रवर्तनमुखी बनाउन यस्ता कार्यक्रमहरू अत्यन्त प्रभावकारी हुने बताउनुभयो। युवा तथा ऊर्जाशील नेतृत्वका रूपमा परिचित सिंहले विद्यालयमा नवीनतम सिकाइ पद्धतिलाई प्रोत्साहन गर्दै आइरहनुभएको छ।
कार्यशालाका प्रशिक्षक GenZ शेखर राम साउद हुनुहुन्छ। नवप्रवर्तन तथा STEAM शिक्षाको क्षेत्रमा सक्रिय साउदलाई धेरै युवाहरूले प्रेरणादायी व्यक्तित्व तथा रोल मोडलका रूपमा लिने गरेका छन्। उहाँले विद्यार्थीहरूलाई “हातले गर्दै सिक्ने” (Hands-on Learning) अवधारणामार्फत जटिल प्रविधिलाई सरल र रमाइलो तरिकाले सिकाइरहनुभएको छ।
कार्यशालाको समापन असोज १९ गते रोबोट प्रदर्शन, प्रस्तुतीकरण तथा विशेष गतिविधिसहित गरिने आयोजकले जनाएको छ। विद्यालय प्रशासनका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान क्षमता, टोलीगत कार्य र प्राविधिक आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
“सिद्धान्त मात्र होइन, सीप पनि — यही हो छुकछुके रोबोट अभियानको लक्ष्य।”

CP Hospital Dhangadhi
Attariya Hospital