
अत्तरिया : नेपाली कांग्रेसका प्रभावशाली नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर लोकतान्त्रिक आन्दोलन, साङ्गठनिक सुदृढीकरण, सामाजिक सेवा र जनजीविकाका सवालमा अग्रमोर्चामा क्रियाशील बिष्टले पार्टीलाई नयाँ युग र नयाँ पुस्ताको आवश्यकताअनुसार गतिशील, उत्तरदायी तथा नतिजामुखी बनाउने मुख्य सङ्कल्पसहित केन्द्रीय तहमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बिष्टले आफू कुनै व्यक्तिगत पद, प्रतिष्ठा वा महतवाकांक्षीका लागि नभई जनता र पार्टीका कार्यकर्ताको सच्चा सेवक बनेर केन्द्रीय नीति निर्माण तहमा योगदान दिन मैदानमा उत्रिएको बताए । पार्टीलाई गुटबन्दी र आन्तरिक खिचातानीभन्दा माथि उठाएर पूर्णरूपमा एकताबद्ध, मर्यादित र अनुशासित बनाउने सङ्कल्प रहेको उनको भनाइ छ । यसैगरी, विदेशमा रहेका लाखौँ नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा जोड्ने तथा प्रवासमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई अझ प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
’कांग्रेसलाई सुदृ, नीतिगत स्पष्टता र युवा पुस्ताको आशाको केन्द्र बनाउनका लागि म सधैँ सक्रिय रहने छु । प्रविधिमैत्री पार्टी, सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी, उद्यमशीलता, आर्थिक रूपान्तरण, समावेशी र एकताबद्ध कांग्रेस जस्ता विषयमा म सधैँ प्रतिवद्ध छु । त्यसैले तपाईंहरूले मलाई केन्द्रीय सदस्यका रुपमा विजयी गराउनुहुने छ भन्ने पूर्ण विश्वास लिएको छ,’ उनले भने ।
कांग्रेस चुनाव जित्ने माध्यम मात्र नभइ मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको मुख्य संवाहक भएकाले पार्टीलाई आधुनिक, पारदर्शी र आम जनताको विश्वासयोग्य बनाउन आफ्नो केन्द्रीय सदस्यमा दाबी रहेको बिष्टले प्रस्ट पारेका छन् ।

बिष्ट कैलाली–४ बाट अत्याधिक र लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । उनले कुल खसेको ६९० मतमध्ये ५६० मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा शानदार जित हासिल गरेका थिए ।
विद्यार्थी जीवनबाटै बिष्टमा उच्च राजनीतिक चेत थियो । बिष्ट २०४६ को जनआन्दोलनताका भारतको देहरादुनमा अध्ययन गर्थे । त्यसक्रममा उनले देहरादुनबाट नयाँ दिल्ली पुगेर नेपालमा बहुदलीय प्रजातन्त्रको माग गर्दै आयोजना गरिएका प्रदर्शनहरूमा सक्रियतापूर्वक सहभागिता जनाएका थिए ।
त्यसपछि उनी नेपाल फर्किएर काठमाडौंको शंकरदेव क्याम्पसमा अध्ययन गर्नथाले । त्यसै क्रममा सन् १९९८ मा उनी उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगे । अमेरिकामा रहेर पनि उनले देशको लोकतान्त्रिक आन्दोलनलाई निरन्तर सहयोग पु¥याइरहे ।
सन् १९९९ मा उनले न्युयोर्कमा ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ स्थापना गरी संस्थापक संयोजकको भूमिका निर्वाह गरे । सन् २००२ मा संयुक्त राष्ट्रसंघको भवनअगाडि निरंकुश राजतन्त्रको विरोध र लोकतन्त्रको पक्षमा विशाल ¥यालीको नेतृत्व उनैले गरेका थिए ।

२०६२÷६३ को जनआन्दोलनका क्रममा अमेरिकाका विभिन्न सहरमा विशाल प्रदर्शन गराई अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउन बिष्टले खेलेको भूमिकाको प्रशंसा गर्दै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई नेपाली जनसम्पर्क समिति गठन गर्ने जिम्मेवारी दिएका थिए ।
सन् २००५ मा जनसम्पर्क समिति अमेरिकाका संस्थापक संयोजक बनेका बिष्ट सन् २००८ र २०१४ मा दुई कार्यकाल अमेरिका समितिको निर्विरोध तथा भारी मतका साथ सभापति निर्वाचित भए । उनको नेतृत्वमा अमेरिकाभर २६ वटा च्याप्टरहरू विधिवत् रूपमा विस्तार भए । ११ औँ देखि १४ औँ महाधिवेशनसम्म लगातार महासमिति सदस्य रहेका बिष्ट १३ औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाद्वारा आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका थिए । भूगोलबाहिरबाट नेपाली कांग्रेसको केन्द्रीय समितिमा मनोनित हुने उनी पहिलो व्यक्ति हुन् ।
राजनीतिसँगै बिष्टको लोभलाग्दो सामाजिक छवि रहेको छ । अमेरिका पुग्ने नेपालीहरूका लागि उनको दैलो सधैँ खुला रहने गर्छ । बसोबासको प्रबन्ध मिलाउनेदेखि हजारौँ विद्यार्थीलाई रोजगारी दिलाउन, बिरामीको उपचार गराउन र कुनै नेपालीको निधन भएमा शव नेपाल पठाउने वा अन्त्येष्टि गर्नेसम्मका कार्यमा उनले निःस्वार्थ सहयोग गरेका छन् ।
कोभिड–१९ महामारीका बेला न्युयोर्कमा रातदिन खटेर बिरामीहरूका लागि मास्क, सेनिटाइजर र खाद्यान्न घर–घरमै पु¥याउने कार्यमा उनी सक्रिय रहे । उनको यस अतुलनीय सामाजिक कार्यको कदर गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई ‘उत्कृष्ट सामाजिक सेवा’बाट सम्मानित गरेका थिए भने न्युयोर्कका तत्कालीन मेयरले निवासमै पुगेर सम्मान अर्पण गरेका थिए ।
नेपालमा आइपरेका विभिन्न विपद्का बेला पनि बिष्ट अग्रमोर्चामा खटिएका छन् । कोरोना महामारीमा अमेरिकाबाट एक करोड ३५ लाख रुपैयाँ संकलन गरी कांग्रेसको राहत कोषमा जम्मा गराएका उनले २०७२ को विनाशकारी भूकम्पलगत्तै नेपाल पुगेर अस्थायी टहरा निर्माण, त्रिपाल र खाद्यान्न वितरणका साथै काठमाडौँको गागलफेदीमा विद्यालय भवन पुनर्निर्माण गराएका थिए ।
यसबाहेक दार्चुलाका बाढीपीडित, तराईका हुरीबतास र शीतलहर पीडित तथा देशका साढे दुई दर्जनभन्दा बढी जीर्ण विद्यालय भवन पुनर्निर्माणमा उनको आर्थिक तथा भौतिक सहयोग पुगेको छ । डोटीका लागि दुईवटा एम्बुलेन्स सेवा उपलब्ध गराउनेसम्मका समाजसेवामा उनी जोडिएका छन् ।
यतिबेला उनै उच्च सामाजिक छवी बनाएका बिष्ट कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन् । उनले सबै जनताको साथमा रहेर सामाजिक कार्यमा सक्रिय रहने प्रतिवद्धता जनाउँदै सबैको साथ पाउने विश्वाससमेत व्यक्त गरेका छन् ।






























