कांग्रेसको १५औँ महाधिवेशन : आजदेखि बन्दसत्र, निर्वाचन प्रक्रिया पनि सुरु हुँदै

Image
Nisarga Hospital

काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। खुलामञ्चमा आयोजना हुने बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुने कार्यक्रम रहेको छ।

CP Hospital Dhangadhi

बन्दसत्रमा देशभरबाट करिब ७ हजार ५०० प्रतिनिधिको सहभागिता रहने कांग्रेसले जनाएको छ। प्रतिवेदनमाथिको छलफललाई प्रभावकारी बनाउन प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरिने भएको छ। महाधिवेशनको उद्घाटन समारोह भने आइतबार खुलामञ्चमा सम्पन्न भएको थियो।

यसैबीच, आजदेखि नै कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि साँझ ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध गर्न सकिनेछ। अन्तिम मतदाता नामावली राति ८ः३० बजे प्रकाशन गरिने तालिका छ।

nawajiwan
Attariya Hospital

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबीविरोध र साँझ ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको छ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सो दिन उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्। असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुने तथा मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।