
बैतडी: दशैं–तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै बैतडीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने तथा सवारीसाधनमा चाप हुने भएकाले यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यात्रा गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार गोठलापानी, देहीमाण्डौं, सतबाँझ, पाटन, खोडपे, पुर्चौडी, मेलौली, गोकुलेश्वर, रौलेश्वर, गाँजरीलगायतका स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
सहायता कक्षमार्फत यात्रु तथा सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने, गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने, यात्राका क्रममा आइपर्ने समस्या तथा गुनासोको सुनुवाइ गर्ने र आकस्मिक अवस्थामा तत्काल प्रहरी सहायता उपलब्ध गराइने प्रहरीले जनाएको छ।


त्यस्तै, सार्वजनिक स्थानमा हुन सक्ने चोरी, ठगी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा समेत सहायता कक्षले समन्वय र सहजीकरण गर्नेछ। चाडपर्वका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुसँग चर्को भाडा असुल्ने तथा अन्य गलत गतिविधि हुन नदिन प्रहरीले निगरानी बढाउने जनाएको छ।
प्रहरी निरीक्षक सिंहका अनुसार यात्रुको भीड र सवारी चापलाई मध्यनजर गर्दै नागरिकलाई सुरक्षित तथा सहज यात्रा गराउन यात्रु सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ।






























