
नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावअघि अन्य राजनीतिक दलसँग गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने नीति अघि सारेको छ। कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा यस्तो प्रतिबद्धता जनाइएको हो।

प्रस्तावमा विगतका निर्वाचनमा अन्य दलसँग गरिएका गठबन्धनले पार्टीको पहिचान र जनसम्बन्ध कमजोर बनाएको आत्मसमीक्षा गर्दै अब आफ्नै राजनीतिक पहिचानसहित निर्वाचनमा जाने उल्लेख छ। निर्वाचनपूर्व गठबन्धन नगरी ‘रुख’ चिह्नमा आफ्नै उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने नीति दस्तावेजमा समेटिएको छ।
कांग्रेसले राष्ट्रिय मुद्दामा भने अन्य दलसँग आवश्यक सहकार्य गर्न सक्ने जनाएको छ। संविधानको रक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय सुरक्षा, न्याय तथा सार्वजनिक हितका विषयमा हुने सहकार्यलाई सत्ता वा संस्थाको भागबन्डामा परिणत नगर्ने प्रस्तावमा उल्लेख छ। पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्यको आधार नबनाउने नीति पनि अघि सारिएको छ।


त्यस्तै, निर्वाचन प्रणाली सुधारका लागि कुनै पनि उम्मेदवार स्वीकार नगर्ने विकल्प अर्थात् ‘नो भोट’ वा ‘राइट टु रिजेक्ट’ को व्यवस्था सार्वजनिक बहसमा लैजाने प्रस्ताव गरिएको छ। विदेशमा रहेका नेपाली तथा आफ्नो स्थायी निर्वाचन क्षेत्रबाहिर रहेका नागरिकलाई मतदानको पहुँच विस्तार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
प्रस्तावमा स्वच्छ र कम खर्चिलो निर्वाचन प्रणाली विकाससँगै प्रतिनिधित्व र निर्वाचन क्षेत्र सुधारका विषयमा समेत बहस अघि बढाउने उल्लेख छ।






























