
धनगढीः चाडपर्व नजिकिएसँगै काठमाडौं–धनगढी हवाई रुटमा यात्रुको चाप बढेपछि हवाई भाडा पनि आकाशिएको छ। सामान्य अवस्थामा करिब १० हजार ८ सय रुपैयाँमा पाइने टिकटको मूल्य अहिले बढेर २२ हजार रुपैयाँसम्म पुगेको छ।

चाडपर्वका बेला काठमाडौंँबाट धनगढी आउने यात्रुको चाप अत्यधिक हुने तर धनगढीबाट काठमाडौं फर्किने उडानमा यात्रु कम हुने भएकाले भाडा समायोजन गर्नुपरेको एयरलाइन्स कम्पनीहरूको भनाइ छ। उनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको अधिकतम सीमाभित्रै रहेर भाडा तोकिएको दाबी गरेका छन्।
तर, प्राधिकरणले काठमाडौं–धनगढी रुटका लागि अधिकतम २१ हजार ६ सय रुपैयाँ भाडा निर्धारण गरेको भए पनि केही एयरलाइन्सले २२ हजार १८० रुपैयाँसम्म भाडा तोकेका छन्।


धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले भने प्राधिकरणले तोकेको अधिकतम सीमाभन्दा बढी भाडा लिन नपाइने स्पष्ट पारे। तोकिएको सीमाभन्दा बढी रकम असुल गरेको पाइए अनुगमन गरी आवश्यक कारबाही गरिने उनले बताए।
सामान्य अवस्थामा समेत देशकै महँगो हवाई रुटमध्ये पर्ने काठमाडौं–धनगढीको भाडा चाडपर्वमा थप महँगिएपछि सुदूरपश्चिमका नागरिकमाथि आर्थिक भार बढेको छ। काठमाडौं–धनगढीको हवाई भाडा भारतको राजधानी दिल्लीसम्मको हवाई यात्राभन्दा समेत महँगो हुने विषय पटक–पटक प्रतिनिधिसभामा उठे पनि समस्या समाधान हुन सकेको छैन।






























