दशैं–तिहार लक्षित सुदूरपश्चिमका ३४ स्थानमा यात्रु सहायता कक्ष

Image
Nisarga Hospital

अत्तरियाः दशैं–तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका विभिन्न ३४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने तथा सवारीसाधनमा चाप हुने भएकाले यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यात्रा गराउने उद्देश्यले प्रहरीले सहायता कक्ष सञ्चालनमा ल्याएको हो।

CP Hospital Dhangadhi

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टका अनुसार कैलालीमा ७, कञ्चनपुरमा ५, डडेल्धुरामा ३, डोटीमा २, दार्चुलामा ३, अछाममा २, बझाङमा २, बैतडीमा ६ र बाजुरामा ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

सहायता कक्षबाट चाडपर्वमा यात्रा गर्ने यात्रु तथा सर्वसाधारणलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउनुका साथै गन्तव्यसम्म पुग्न सहजीकरण गरिने प्रहरी निरीक्षक भट्टले बताए। यात्राका क्रममा आइपर्ने समस्या, गुनासो तथा असहज अवस्थाको तत्काल सुनुवाइ गरी आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले जानकारी दिए।

nawajiwan
Attariya Hospital

त्यस्तै, आकस्मिक अवस्थामा तत्काल प्रहरी सहायता उपलब्ध गराउने तथा सार्वजनिक स्थानमा हुन सक्ने चोरी, ठगी, झैझगडा र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि समेत सहायता कक्षबाट समन्वय र सहजीकरण गरिने प्रहरीले जनाएको छ।

चाडपर्वका समयमा यात्रुको चापसँगै सवारीसाधनको आवागमनसमेत बढ्ने भएकाले क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुसँग चर्को भाडा असुल्ने तथा अन्य अनियमितता हुन नदिन प्रहरीले निगरानी बढाउने भएको छ। यात्रु सहायता कक्षमार्फत यस्ता गतिविधिबारे यात्रुबाट प्राप्त हुने सूचना तथा गुनासोलाई समेत तत्काल सम्बोधन गरिने जनाइएको छ।

दशैं–तिहारमा घर फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको संख्या बढ्ने भएकाले सहायता कक्षले यात्रुलाई सुरक्षित र सहज यात्रा गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रहरीको अपेक्षा छ। प्रहरी निरीक्षक भट्टका अनुसार सहायता कक्ष स्थापना गर्ने काम अझै जारी रहेकाले हाल कायम ३४ स्थानको संख्या थप बढ्न सक्नेछ।