
भक्तपुरः सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित कपाली टोलमा रहेको कवाडी गोदाममा आगलागी भएको छ। कवाडी सामग्री भण्डारण गरिएको गोदाममा विद्युत्को तार सर्ट भएर आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार आगलागीका क्रममा गोदाममा रहेको ग्यास पड्किएपछि आगो थप फैलिएको हो। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। आगलागीबाट गोदाममा रहेका कवाडी सामग्री तथा अन्य सामानमा क्षति पुगेको हुनसक्ने भए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ।

आगलागी नियन्त्रणका लागि भक्तपुर नगरपालिकालगायत विभिन्न स्थानबाट दमकल घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीयसमेत परिचालन भएका छन्।

हालसम्म घटनामा मानवीय क्षति भएको सूचना प्राप्त नभएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। आगलागीको कारण विद्युत्को तार सर्ट भएको प्रारम्भिक अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























